Logo
Logo

नक्कली पत्रकार पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ । सरकारको एक्सनपछि नेत्रबिक्रम चन्द ‘विप्लव’ माओवादीका हिंसात्मक घटनामा केही कमी आएको छ । ८० प्रतिशत नेता तथा कार्यकर्ता पक्राउ परेपछि सो समूह कमजोर बनेको छ ।

सो समूहका गतिविधि कमी आएका छन् । तर, केही व्यक्तिहरुलाई भने विप्लवको हिंसा कमाई खाने माध्यम भएको छ । आफू विप्लवको मान्छे भन्दै पैसा असुलीका घटना बढेको प्रहरीले जनाएको छ ।

केहीले विप्लव निकट पत्रकार भनेर समेत पैसा माग्ने गरेका छन् । जसमा संलग्न झापा गौरादहका ४२ वर्षीय विश्वराज शर्मा, भद्रपुरका ४१ वर्षीय सुबास कोइराला र भद्रपुरकै २४ वर्षीय सुभम घिमिरेलाई दुई साताअघि महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।

उनीहरुले काठमाडौंका मालपोत तथा नापीका कर्मचारीहरुलाई आफूहरु विप्लव निकट पत्रकार भन्दै धम्काएर पैसा माग्दै आएका थिए । त्यसरी कर्मचारीबाट १० देखि १५ हजार रुपैयाँ लिएको पनि खुलेको छ । पछि पाँच हजार रुपैयाँ मागेपछि कर्मचारीलाई शंका लागेर प्रहरीलाई खबर गरेका थिए । जसक्रममा विप्लवको पत्रकारका नाममा उनीहरुले ठगी गरेको खुलेको हो ।

एक कांग्रेस नेताले समेत विप्लवको नाममा पैसा उठाउने गरेको खुलेको छ । एक जना कांग्रेस नेताका पिएसमेत रहेका नुवाकोटका जनकराज ढुंगानाले यसरी विप्लवको नाममा पैसा उठाएका हुन् ।

भेडासिंहस्थित एक कपडा व्यापारीकहाँ उनी आफू विप्लवको नेता भएको भन्दै २५ हजार रुपैयाँ माग्न गएका थिए । पसलमा रहेको सिसिटिभीमा उनको भिडियो रेकर्ड भएको थियो । महानगरीय प्रहरी वृत्त जनसेवाले उनलाई गत साता पक्राउ गरेको छ । पक्राउ परेपछि आफू एक जना कांग्रेसी नेताको पिए भएकाले छाडिदिन आग्रह गरेका थिए । तर, प्रहरीले उनीविरुद्ध मुद्दा अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्