Logo
Logo

एयरपोर्टबाटै आईएसलाई खबर गर्ने धम्की


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ असोज । अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका एक अमेरिकी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेर गत साता अमेरिका पठाइदियो । यौन दुराचार मुद्दामा इन्टरपोलले समेत रेड नोटिस जारी गरेका नाथन बेडफोर्डलाई ठमेलबाट पक्राउ गरिएको थियो । उनलाई लैजान अमेरिकाले विमान नै चार्टड गरेर नेपाल ल्याएको थियो ।

सो घटनामा सहयोग गरेकोमा काठमाडौंस्थित अमेरिकी दुतावासले नेपाल प्रहरी र अध्यागमन विभागलाई धन्यवाद दिएको छ । तर, अध्यागमनका एक कर्मचारीका कारण अमेरिका रिसाएको छ ।

पक्राउ गरेर विमानस्थल लैजाने क्रममा अध्यागमनका एक कर्मचारीले उनलाई अमेरिकामा फोन गर्न मोबाइल दिएका थिए । जसक्रममा उनले आफ्नो छोरालाई फोन गरेर आतंकवादी समूह आईएसलाई समेत यसबारे जानकारी दिन भनेका थिए । उनले आईएसको नाम लिएपछि अमेरिकी अधिकारीहरु झस्किएका हुन् । फोनमा उनले विश्वका सबै ठूला मिडियालाई आफ्नो पक्राउबारे खबर गर्न भनेका थिए । एक कर्मचारीले गोप्य रुपमा मोबाइल प्रयोग गर्न दिदा उनले त्यसरी धम्की दिएका हुन् ।

पक्राउ परेका नाथन आतंकवादी समूहमा समेत संलग्न भएको हुनसक्ने आशंका गरिएको छ । अमेरिकाका उनी भूतपूर्व आर्मी हुन् । प्रेमिकाकी छोरीलाई दुव्र्यवहार गरेको घटनामा उनीविरुद्ध उजुरी परेको थियो । लगत्तै उनी चीन हुँदै नेपाल आएका थिए । सन् २०१४ मा यौन दुराचार गरेकोमा अहिले उजुरी पर्नुले पनि घटना शंकास्पद बनेको हो ।

पक्राउ परेलगत्तै उनी आत्तिएका थिए । सुरुमा उनलाई कोरियन एयरमार्फत अमेरिका लैजान खोजेका थिए । तर उनले विमानमै आत्महत्या गर्ने धम्की दिएपछि विमानभित्रै आतंक मच्चियो । उनलाई कोरियन एयरले लैजान मानेन । त्यसपछि करिब एक लाख डलर खर्च गरेर अमेरिकी मार्सल सर्भिसले विमान नै चार्टड गरेर काठमाडौं ल्याएको थियो । प्लेनमा बस्ने बित्तिकै उनको हातखुट्टामै हत्कडी लगाइएको थियो ।

उनी अमेरिका जान डराउनु र उनलाई लैजान प्लेन चार्टर गर्नुले उनी आतंकवादी गतिविधिमा समेत संलग्नताको आशंका गरिएको छ । उनका छोरा पनि अमेरिकी सेनामै कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्