काठमाडौं । घनश्याम भुसालले बाध्य भएर आफूले नेकपा एमाले छाडेको बताएका छन् । आज (शुक्रबार) नेकपा एकीकृत समाजवादी प्रवेश गर्दै एमाले अध्यक्ष केपी ओलीले ‘मण्डले’लाई ल्याएर आफूलाई निकालेको उनले आरोप लगाए ।

एमालेको तत्कालीन स्थायी कमिटी सदस्य रहेका भुसालले गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए । एमाले परित्याग गर्नु सामान्य प्रतिवाद भएको नेता भुसालले बताए ।
उनले भने, ‘म एमालेमा रहन सकिनँ । धेरैले साथीभाइले भन्छन्– एमाले किन छाडिस् ? मेरो निर्वाचन क्षेत्रमा अर्का कसैलाई उठाइँदै छ भन्ने मलाई थाहा थियो । मैले सबैलाई भनेको थिएँ मलाई उम्मेदवारी दिइँदैन । यो सामान्य कुरा थियो तर मैले अघिल्लो निर्वाचन हराएको मण्डलेलाई ल्याएर मलाई निकालेको कुरा पनि म सहेर बस्नु हो भने जिउँदै बस्नु पर्छ कि पर्दैन होला ? त्यो कुरा जोसुकैले सोच्ने कुरा हो जस्तो लाग्छ । त्यसैले मैले त्यसको सामान्य प्रतिवाद गरेको हुँ ।’
नेकपा एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पाटी आफूले रोजेको उनले बताए । उनले भने, ‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु । त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ ।’
सैद्धान्तिक रूपले र वर्तमानमा बसेर इतिहास हेर्दै अगाडि बढ्न सकिने ठाउँ पनि एकीकृत समाजवादी भएको उनको भनाइ छ ।











