काठमाडौं । आज देशभर मौसाम सफा रहनेछ । साँझबाट भने देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

सोही प्रणालीका कारण राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
राति भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मंगलबार र बुधबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।














