Logo
Logo

भोलिबाट काठमाडौं महानगरका वडाबाटै राष्ट्रिय परिचय पत्रको विवरण संकलन गरिने


441
Shares

काठमाडौं । राष्ट्रिय परिचय पत्रका लागि काठमाडौं महानगरका वडाबाटै विवरण संकलन कार्य हुने भएको छ । यसअघि राष्ट्रिय सभा गृहबाट विवरण संकलन हुने गरेकामा भोलि (माघ १०) गतेदेखि भने वडाबाटै विवरण संकलन हुने महानगरले जनाएको छ ।

विभागका महानिर्देशक तीर्थराज भट्टराईले सुरुमा केही वडाबाट काम थालनी गर्ने र एक हप्ताभित्र सबै वडामा सेवा पु¥याउने लक्ष्यसहित योजना गरिएको जानकारी दिए ।

नागरिकको पहिचानलाई डिजिटल पहिचान गर्ने, व्यक्तिगत र जैविक पहिचानलाई एकीकृत गर्ने राष्ट्रिय परिचय पत्र बनाउनुको अवधारणा हो । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन २०७६, कार्यविधि २०७७ परिचय पत्रका कानुनी आधार हुन् ।

यसमा जनसांख्यिक र जैविक विवरण समावेश हुन्छ । जनसांख्यिक विवरणमा नाम थर, जन्म मिति, लिङ्ग, राष्ट्रियता, स्थायी–अस्थायी ठेगाना, बुबा आमा, पति पत्नी, बाजे बज्यैको नाम थर, नागरिकता सम्बन्धी सूचना पर्छन् ।

यसैगरी जैविक विवरणमा दश औलाको छाप, आँखाको रङ्ग, अनुहारको फोटोलगायत विवरण पर्छन् । हरेक व्यक्तिलाई १० अङ्कको छुट्टाछुट्टै परिचय पत्र दिइन्छ ।

विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, नागरिकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाण पत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिने महानगरले जनाएको छ ।

नागरिकताको प्रमाणपत्रमा उल्लेखित भन्दा फरक स्थायी ठेगाना भएमा बसाइँ सराइ दर्ताको प्रमाणपत्र सक्कल प्रति लैजानुपर्छ । राज्य पुनःसंरचनाका कारण ठेगाना परिवर्तन भएको हकमा त्यस्तो कागजात आवश्यक नपर्ने जनाइएको छ ।

विवाहितको हकमा नागरिकताको प्रमाणपत्रमा पति वा पत्नीको नाम उल्लेख नभएमा वा फरक परेमा विवाह दर्ताको प्रमाण पत्रको सक्कल प्रति आवश्यक पर्ने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्