Logo
Logo

चिनियाँ राष्ट्रपतिको भ्रमणमा सुरक्षा चुनौती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ असोज । कुनै अप्रत्याशित घटना नभएमा चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल आउने पक्का भएको छ । २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमण सरकारको प्रतिष्ठासँग समेत जोडिएकाले यसलाई विशेष बनाउन तयारी सुरु भइसकेको छ । असोज २७ गते चिनियाँ राष्ट्रपति सी भारत हुँदै नेपाल आउने लगभग पक्का भएको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ । यद्यपि मिति अझै घोषणा गरिएको छैन । यसरी उनको भ्रमणलाई सकेसम्म गोप्य राखिनुको मुख्य कारण सुरक्षा नै प्रमुख कारण हो । चिनियाँ राष्ट्रपतिमाथि नेपालमा आक्रमणको जोखिम त छैन । तर, नेपालमा चीन विरोध धेरै समूहहरू सक्रिय रहेको र उनीहरूले भ्रमणलाई विवादित बनाउने जोखिम भने रहेको गृह मन्त्रालयको विश्लेषण छ । त्यस्ता समूहका गतिविधि असफल बनाउन भ्रमण कार्यतालिका अन्तिममा मात्र सार्वजनिक गर्ने सरकारको तयारी छ ।

भ्रमणको तयारीस्वरूप काठमाडौंमा चिनियाँ गुप्तचरदेखि नेताहरूसम्मको आगमन बढिसकेको छ । सुरक्षा रेकी गर्न मात्र चिनियाँ एक विशेष टिम काठमाडौं आइसकेको स्रोत बताउँछ । अघिल्लो सोमबार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ ताओले नेपाल भ्रमण गरेका थिए । उनको भ्रमण पनि चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीकै लागि भएको थियो । त्यसक्रममा दुई देशका कम्युनिष्ट पार्टीबीच दुईदिने वैचारिक अन्तरक्रियासमेत भएको थियो । त्यहाँ सीको विचाराधाराबारे चर्चा गरिएको थियो ।

चिनियाँ अधिकारीहरूले सुरक्षा मामिलाबारे नियमित रूपमा गृह मन्त्रालयसँग छलफल गरिरहेका छन् । चिनियाँ राजदूत हाउ यान्छी यस विषयमा छलफल गर्न पटकपटक गृहमन्त्रालय पुगेकी छिन् । स्रोतका अनुसार केन्द्रीय सुरक्षा समितिको समेत बैठकमा चिनियाँ राष्ट्रपतिको भ्रमणबारे छलफल भइसकेको छ । राष्ट्रकै इज्जतको विषय भएकाले यसमा विशेष योजना बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्रीले निर्देशन दिएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको दुई साताअघिको नेपाल भ्रमणलाई समेत विवादमा पारेर एक महिला समूहले चीनलाई बिच्काउने प्रयास गरेको थियो । बालुवाटास्थित चिनियाँ दूतावासनजिकै गएर महिलाहरूको एक समूहले चीनविरोधी नारा लगाएका थिए । राजविराज घर भएकी सुनिता साह तेलीले त्यसरी नाटकीय शैलीमा विरोधको गतिविधि गरेकी थिइन् । उनी हालसम्म पनि फरार रहेकाले साहलाई कसले परिचालन गरेको थियो भन्ने खुल्न सकेको छैन ।

राष्ट्रपतिको भ्रमणअघि वा भ्रमणका दौरान यस्ता गतिविधि अझै धेरै हुनसक्ने सुरक्षा आँकलन छ । खासगरी तिब्बती शरणार्थीबाट चीन विरोध गतिविधि हुन सक्ने भएकाले अहिलेदेखि नै विशेष सतर्कता अपनाइएको छ । राष्ट्रिय अनुसन्धान विभागको एउटा विशेष टिम नै यसमा परिचालन गरिएको छ । नेपाल प्रहरी र नेपाली सेनाको सुराकीहरू समेत निगरानीमा खटिएका छन् ।

केही मानवअधिकारवादी संस्थाहरू विगतमा खुलेरै फ्रि तिब्बत गतिविधिमा लागेका छन् । मधेसका केही नेताहरूको त्यस्तो समूहसँग कनेक्सन देखिएको छ । आईएनजिओ तथा केही पश्चिमी देशका दूतावासहरूले समेत शरणार्थीलाई उचाल्ने प्रयास गरिरहेको सूचना गृह मन्त्रालयमा पुगेको छ । तिब्बती शरणार्थी बस्दै आएका बौद्ध, स्वयम्भु तथा जावलाखेल क्षेत्रमा ठूलो संख्यामा प्रहरीले निगरानी बढाएको छ ।

सुरक्षाको सुक्ष्म मूल्याङकन

चिनियाँ राष्ट्रपति सी सोल्टी होटलमा बस्ने तयारी छ । गत साता काठमाडौं आएको चिनियाँ टोलीले एयरपोर्टदेखि सोल्टी होटलसम्मको सुरक्षा सुक्ष्म अध्ययन गरेको थियो । उनीहरूले एयरपोर्टदेखि नै रेकी गरेका थिए । सोल्टी होटलमै बसेर चिनियाँ टोलीले विस्तृत अध्ययन गरेको थियो । सोल्टी होटल आसपासका घर, सडक, पसल र गल्लीहरूको समेत फोटोसहितको रिपोर्ट बनाइएको स्रोत बताउँछ । रेकी गर्न आएको चिनियाँ टोली फर्किसकेको छ ।

के होला उपहार ?

सीको भ्रमणलाई नेपालमा उत्सुकताका साथ हेरिएको छ । उनी आए देशले विकासमा ठूलो फड्को मार्ने अपेक्षासमेत कतिपयले गरेका छन् । उनले पूर्वाधार विकासमा ठूला सहयोगको घोषणा गर्न सक्ने आँकलन गरिएको छ । कतिपय कार्यक्रमहरू यसअघि नै सार्वजनिकसमेत भइसकेका छन् । सीको नेपाल भ्रमणका क्रममा केरूङ–काठमाडौं जोड्ने झोरेदेखि जोरभन्ज्याङ हुँदै नुवाकोट निस्किने सुरूङमार्गसहितको सडक बनाउने सहमति हुने भनेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक कार्यक्रममा नै बताइसकेका छन् । २८ भदौमा टोखा नगरपालिका–१ झोरमा बाल उद्यान उद्घाटन कार्यक्रममा समेत उनले सो कुरा बताएका थिए ।

भ्रमणमा नेपालको चासो भने काठमाडौं–केरुङ रेलमार्गमा छ । सकेसम्म चीनले अनुदानमा रेलमार्ग बनाइदिओस् भने प्रस्ताव नेपाली पक्षले राखेको छ । त्यसमा चीनले असहमति जनाएको छ । दुवै देशले लगानी गर्नुपर्ने प्रस्ताव उसले राखेको स्रोत बताउँछ ।

पर्यटनमा अवसर

राष्ट्रपति सी भ्रमणको अर्काे फाइदा पर्यटन क्षेत्रमा हुनेछ । पछिल्ला केही वर्षमा नेपालमा चिनियाँ पर्यटक बढिरहेका छन् । सीको भ्रमणले चीनमा नेपालबारेमा थप प्रचार हुनेछ । जसका कारण चिनियाँ पर्यटकहरू बढ्ने र भ्रमण वर्षलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । सन् २०१८ मा १५ करोड चिनियाँ विभिन्न देश पुगेको तथ्याङक छ । जसमध्ये एक लाख ५३ हजार मात्र नेपाल आएका थिए । यो तथ्याङले छिमेकी देश नेपालमा निकै थोरै मात्र चिनियाँ घुम्न आएको प्रष्ट हुन्छ । सीको भ्रमणले नेपालको पर्यटन उद्योगलाई समेत अवसरको ढोका खोल्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्