Logo
Logo

प्रदेश १ मा ४ देशका ५७ पर्यटकको सप्ताह भ्रमण



धरान । प्यासेफिक एशियन ट्राभल एसोसियसन (पाटा)को आयोजनामा प्रदेश १ का विभिन्न जिल्लाको पर्यटकीय स्थलको भ्रमण गर्न निस्किएका ४ देशका ५७ जना पर्यटन व्यवसायीहरूलाई धरान धनकुटा, मोरड र इलाममा भव्य स्वागत गरिएको छ ।

नेपाल, भारत, बंगलादेश, अमेरिकाका पर्यटन व्यवसायी तथा फोटो पत्रकार सम्मिलित टोली ५ दिने भ्रमणका क्रममा शनिवार भेडेटार गाउँपालिकाले होटल नेपालयमा भव्य स्वागत गरेको ।

त्यहाँ एक रात बिताएको भ्रमण टोलीलाई भेडेटारकोे पाथिभरा मन्दीर र नमस्ते झरनाको अवलोक गराईएको थियो । साँगुरीगढी गाउँपालिकाका प्रमुख जितेन्द्र रुम्दालीले आफनो गाउँपालिका प्रदेश नं १ कै रमणीय पर्यटकीय गाउँपालिका भए पनि विदेशी पाहुनाहरु ल्याउन विभिन्न समस्याहरु रहेकोमा पाटाले पर्यटक ल्याउन सधाउ पुर्याउने कुरामा आशावादी रहेको बताए ।

यसैगरी आइतबार धनकुटा पुगेका भ्रमण टोलीलाई धनकुटाका नगर प्रमुख चिन्तन तामाड लगायत इसिमोडका पदाधिकारी र स्थानीय सामाजिक संघसंस्थाका पदाधिकारी र बिद्यार्थीहरूले बाजागाजासहित बसपार्कमा स्वागत गरेका थिए ।

सोही दिन टोलीलाई धनकुटाको प्रदेश संग्राहलय, माथिल्लो कोप्चेको पिंक सिटी बिहीबारे हटियास्थित आठपहरीया राईहरुको देवीस्थान मार्ग देवी मन्दिरको दर्शन गराएका थिए ।

यसैगरी पिंक सिटीमा नेवार समुदायका महिलाहरुले बाजागाजासहित शहर प्रवेश गराई नेवारी खाजा खुवाएर स्वागत गरेका थिए । आठपहरीया राईहरुको ५५ चुले घरमा लगेर सोही दिन उनीहरुको जातीगत खाना खुवाएर सांस्कृतिक नृत्य देखाएका थिए ।

सोही दिन साँझ हाम्रो बहुमुखी पाठशालाका कलाकारहरुले सांस्कृतिक कार्यक्रम देखाएका थिए । सोमबार बिहान कचडेको होमस्टे, मुलघाटको वृद्धाश्रमको अवलोकन गर्दै धनकुटा जिल्लाबाट विदा गरिएको छ ।

धनकुटाको मनकामना होटलमा आयोजित बिदाई कार्यक्रममा बोल्दै धनकुटाका नगर प्रमुख चिन्तन तामाडले विभिन्न कारणले व्यापार व्यवसायमा पछि परेको धनकुटालाई अब पूर्वकै सुन्दर पर्यटकीय हब बनाउन आफू लागिपरेको र त्यसका लागि गाउँगाउमा होमस्टे र कृषि पर्यटनलाई जोड दिएको बताए ।

भ्रमण टोलीलाई नेतृत्व गरेर गएका पाटाका अध्यक्ष विभुतिचन्द ठाकुर र अन्य देशका प्रतिनिधीहरुले धनकुटाको सौन्दर्य र आतिथ्यले आफूहरुको मन छोेएको बताउँदै पर्यटन क्षेत्र भनेको बोल्नेको पीठो बिक्ने व्यवसाय भएकोले धनकुटाले अलिक मेहनत गरेर आफ्नो ठाउँको प्रचार गरे विदेशी तथा स्वदेशी पर्यटकहरुको लागि धनकुटा एउटा राम्रो गन्तव्य बन्ने बताए ।

भ्रमण टोली सोमबार धरान आउँदा उनीहरुलाई बुढासुब्बाको मन्दीर परिसरमा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्रविक्रम बेघा लगायत धरान वाड नं १४ र १८ का अध्यक्षहरु र उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ र पदाधिकारीहरुले रुद्राक्षको माला लगाई स्वागत गरेका थिए ।

उनीहरुलाई स्वागत गर्दै उपमेयर बेघाले धरान आसपासका पर्यटकीय क्षेत्र पनि कम मनमोहक नभएको तर देखाउन नसक्दा पछि परिरहेको भन्दै यहाँको पर्यटन विकासमा पाटासँग आशा राखेको बताए ।

धरान ईन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टको संयोजनमा धरानमा पाटाको भ्रमण टोलीलाई स्वागत सत्कार गर्ने कार्यक्रम राखिएको थियो । धरानको अन्तर्राष्ट्रिय गल्फ मैदान छेउमा आयोजना गरीएको दिवाभोज कार्यक्रममा किरात राई यायोख्खाका कालाकारहरुले साकेला नाचले स्वागत गरेका थिए । त्यसैगरी, धरान इन्टेल कलेजका विधार्थीहरुले पकाएका भारतीय परीकारहरु खुवाएर पाहुनाहरुको सत्कार गरिएको थियो ।

धरानको पर्यटन प्रवद्र्धनमा पाटाका सदस्यहरुको यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने कुरा सो कलेजका प्रबन्धक तथा प्राचार्य लोकेन्द्र श्रेष्ठले बताए । भ्रमण टोली सोही दिन कोशी नदीमा र्याफ्टिङ गर्न र कोशीटपुको अवलोकन गर्न पुगेका थिए ।

मंगलवार विराटचोकस्थित होटल नेपारीकामा प्रदेश नं १ का मुख्यमन्त्रीको उपस्थितिमा पर्यटनसम्बन्धी छलफल भएको थियो । विद्यार्थीहरुलाई पर्यटनबारे वक्तृत्वकला प्रतियोगिता गराइएको थियो ।

पाटाका सदस्यहरुलाई सम्वोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश १ लाई पर्यटकीय क्षेत्रमा पनि ‘नम्बर एक’ बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै यसका लागि आगामी वर्ष राम्रो बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए ।

छलफल र भ्रमणको निष्कर्षमा विदेशी प्रतिनिधिहरुले नेपालमा बंगलादेशका पर्यटक भित्र्याउन भिसा प्रणालीलाई सरल बनाउनुपर्ने, धरान–धनकुटा जस्तो शहरमा स्तरीय होटलहरु बानाउनुपर्ने, अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट बनाउनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्