Logo
Logo

उपविदेशमन्त्रीको भ्रमण र नेपालबारे अमेरिकी धारणा



भौगोलिक दृष्टिले नेपालबाट विश्व शक्तिराष्ट्र अमेरिका धेरै टाढा भएता पनि अमेरिका नेपालको पुरानो मित्र हो । नेपाल र अमेरिकाबीच २५ अप्रिल १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

नेपालको पहिलो कूटनीतिक सम्बन्ध भएको बेलायत हो भने दोस्रो अमेरिका हो । अमेरिकाले नेपाललाई स्वास्थ्य र शिक्षाको क्षेत्रमा पहिलेदेखि सहयोग गर्दै आएको छ ।

नेपालको तराई मधेसको औलो उन्मूलन गर्न अमेरिकाले गरेको सहयोग नेपाली जनताले बिर्सिएका छैनन् । किनभने, त्यो समयमा औलोले गर्दा तराई मधेसमा बसोबास गर्न सक्ने परिस्थिति थिएन ।

यस्तै, शिक्षा र स्वास्थ्यको क्षेत्रमा अमेरिकी पिसकोर स्वयंसेवकले नेपाली जनतालाई सेवा पुर्याएकै हुन् । अर्थात, ७५ वर्षदेखि अमेरिकाले नेपाललाई सहयोग गरिरहेको छ ।

यसै मेसोमा हालै अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डको नेपाल भ्रमण भयो । उनले आफ्नो नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री विमला राई पौड्याललगायत नेपालका प्रायः सबै उच्च नेतृत्वलाई भेटिन् ।

यस भ्रमणमा नुल्याण्डले चीनलाई चिढ्याउँने कुनै कुरा गरिनन्, बोलिनन् । र, नेपाल र चीनको संवेदनशीलतालाई बुझ्दै तिब्बती शरणार्थी शिविरमा पनि गइनन् । यसलाई अमेरिकी विदेश नीतिमा आएको परिवर्तन हो भनेर बुझ्न सकिन्छ ।

उनले प्रायः जसो सबै भेटमा अधिनायकवादीले बलपूर्वक विश्वव्यापी नियमलाई कब्जा गर्न खोजिरहेको भन्दै लोकतन्त्रको रक्षाका लागि अमेरिकाले नेपालको समेत साथ चाहेको बताइन् । उनको उक्त भनाइ नेपाल चीनको नजिक गइरहेको भन्ने सन्दर्भ लक्षित हुनसक्छ । किनभने अमेरिकाले चीन र रुसलाई अधिनायकवादी शक्ति ठान्दछ र ती मुलुकसँग नेपाल नजिकिए भने अमेरिकी चिन्ता हुनु स्वाभाविक हो ।

नुले भनेकी छन्, ‘दुवै मुलुक आफ्ना जनताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न चाहन्छन् । जनताको चाहनाद्वारा शोषित हुन चाहन्छन् र सरकारले जनताको हितमा काम गर्छन् । यो नै नेपाल र अमेरिकाको लोकतन्त्रको मुख्य अवयव हुन्, त्यसकारण हामी लोकतन्त्रको रक्षाका लागि मिलेर काम गर्नुपर्छ । मैले यही कुरा यहाँको सरकारसमक्ष बताएँ ।’

उनले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा अमेरिकी परियोजना एमसीसीको द्रुत कार्यान्वयनका लागि चासो राखिन् । यस्तै बेलाबेला नेपालका सरकारी वेबसाइटमा हुने साइबर आक्रमणबारे चासो राख्दै उनले भनिन्, ‘नेपाल सरकारले चाहना राखेमा भविष्यमा त्यस्ता साइबर आक्रमण हुन नदिनका लागि अमेरिका नेपाललाई सहयोग गर्न तयार छ ।’

नुल्याण्डले आफ्नो भ्रमणको अन्त्यमा पत्रकार सम्मेलनमा नेपालको हितमा पहिलोपटक केही महत्वपूर्ण कुरातर्फ इङ्गित गरिन् । उनले भनिन्, ‘नेपाली नेतृत्वसँग आज भएका कुराकानीमा मैले भनेँ– नेपालले आफ्ना छिमेकीसँग आर्थिक सहकार्य मजबुत पारोस् । तर, नेपालले छिमेकीसँग सम्झौता गर्दा सार्वभौमिकताको ख्याल राखोस् । अनि उनीहरूसँग विभिन्न सम्झौता गर्दा नेपाललाई फाइदा होस्, कुनै भ्रष्टाचार नहोस् । छिमेकीसँग भएका सबै सम्झौता खुला र पारदर्शी होऊन् । जस्तो कि, हामीले नेपालसँग गरेको एमसीसी सम्झौताको सबै कुरा वेबसाइटमा भेट्न सकिन्छ ।’

सम्भवतः अमेरिकाद्वारा नेपालको सार्वभौमसत्ताप्रति चिन्ता गरिएको यो पहिलो पटक हुनसक्छ । यसको स्पष्ट सन्देश के हो भने नेपालले कुनैपनि देश या संस्थासँग सम्झौता गर्दा आफ्नो सार्वभौमसत्तामा कुनै असर नपर्ने गरि गर्नुपर्छ र त्यसमा कुनै भ्रष्टाचार हुनु हुँदैन भन्ने हो ।

यसका साथै उनले के कुरा स्पष्ट पारिन् भने नेपाललाई गरिने कुनैपनि सहयोग कुनै अर्को मुलुक (चीन)को प्रभाव कम गर्न नभएर त्यो नेपाली जनताका लागी हो ।

उनले नेपालका दुवै ठूला छिमेकीसँग राम्रो सम्बन्ध भएकोमा स्वागत गर्नुका साथै आफ्नो सार्वभौमसत्ताप्रति सचेत हुनपनि आग्रह गरिन् । उनले भनिन्, ‘भारतसँग अमेरिकाको बलियो सम्बन्ध रहेको र चीनसँगको सम्बन्धबारे तपाईले देख्नुभयो राष्ट्रपति वाईडेन चिनियाँ राष्ट्रपति सि चिनफिङ नोभेम्बर महिनामा सँगै बसे र आउँदा हप्ताहरुमा चीनसँग अझ बढी संलग्नता हुनेछ । चाँडै सि चिनपिङ्गको अमेरिका भ्रमण छिट्टै हुनेछ अर्थात अमेरिका–चीन सम्बन्ध राम्रो छ ।’

यस भ्रमणमा नुल्याण्डले चीनलाई चिढ्याउँने कुनै कुरा गरिनन्, बोलिनन् । र, नेपाल र चीनको संवेदनशीलतालाई बुझ्दै तिब्बती शरणार्थी शिविरमा पनि गइनन् । यसलाई अमेरिकी विदेश नीतिमा आएको परिवर्तन हो भनेर बुझ्न सकिन्छ ।

यसको स्पष्ट सन्देश के हो भने नेपालले आफ्नो मुलुकको विकासका लागि अमेरिका, भारत र चीन कसैको पनि कार्ड खेल्ने आवश्यकता छैन । आफ्नो मुलुककै कार्ड खेलेर देश विकास गर्नुपर्छ ।

नुल्याण्डको यो भ्रमणपश्चात यसै साता अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी)की प्रमुख सामन्था पावर नेपाल आइन् । उनले नेपालको अर्थतन्त्रको विकासमा आफ्नो सहयोग जारी रहने समेत बताएकी छन् ।

नेपाल भ्रमणका क्रममा सामान्थाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. विमला राई पौडेललगायत उच्च राजनीतिक भेटवार्ता गरेकी छन् । यसैक्रममा उनले नेपाललाई ५ करोड ८५ लाख अमेरिकी डलर सहायताको समेत घोषणा गरिन् ।

नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट भएको यो नै उच्च तहको भ्रमण हो । सन् २००२ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अहिले यूएसएआईडीका प्रमुख सामन्था नेपाल आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्