
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै छ। बैठक आज (बिहीबार) साँझ ५ बजेबाट भर्चुअल माध्यम जुमबाट बस्न लागेको हो ।
स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाएलगत्तै माओवादी केन्द्रीय समितिको बैठक बस्ने तयारी रहेको पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन्।
यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो । भर्चुअल माध्यमवाट हुने सो केन्द्रिय समिति बैठकका लागि केन्द्रिय सदस्यहरुलाई जुम आइडी दिईएको छ
माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना रहेका छन् । यसअघि बसेको स्थायी समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता पाएको हो ।














