काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा नयाँ कार्यक्रम र योजना प्रस्ताव नगर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आइतबार प्रतिनिधिसभा बैठकमा सोबारे जानकारी गराएका हुन् ।

मन्त्री पौडेलले सरकारी खर्च कटौती गर्नुपर्ने अवस्था आएकाले चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना हुने नयाँ कार्यक्रम नल्याउने बताए । उनले अर्थ मन्त्रालयबाट स्रोतको सहमति लिएका तर कार्यान्वयनमा जान बाँकी रहेका आयोजनाहरुको पुनः प्राथमिकीकरण गर्ने बताएका छन् ।
हालसम्म मापदण्ड, कार्यविधि निर्देशिका र सञ्चालन विधि स्वीकृत नभएका कार्यक्रम पूर्ण वा आंशिक रुपमा स्थगित गर्ने पनि बताउँदै अर्थमन्त्री पौडेलले भने, ‘ती आयोजना स्रोतको उपलब्धताका आधारमा क्रमशः फुकुवा गरिने छ ।’
उनका अनुसार मापदण्ड कार्यविधि निर्देशिका र सञ्चालन विधि स्वीकृत भएका तर पूर्व तयारी पूरा नभएका कार्यक्रमहरु भने औचित्य हेरी पूर्ण वा आंशिक रुपमा रोक्का गरिने छ ।











