Logo
Logo

प्रचण्डले धनगढी पुगेर मनको कुरा खोले


- दृष्टि न्युज/संवाददाता


वीरेन्द्र रावल, धनगढी ५ कात्तिक । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तामा नजाँदा सम्म कम्युनिष्ट पार्टीका नेताहरु सरल, सहज र असल देखिए तापनि जब उनीहरु सत्तामा पुग्छन् तब, सुटेड, बुटेड र कामका लागि निकै चाम्रा सावित हुने गरेका बताएका छन्।

जनताका घरदैलोमा पुगेर संगठन गर्दाका बखत रुखो सुखो खाएर चटाइमा समेत सुतेका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु सत्तामा पुगिसकेपछि उनीहरुको व्यवहार र शैलीमा आकाश पातालको फरक देखिने गरेको अध्यक्ष दाहालले बताए । देशको आमूल परिवर्तनका लागि कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले जसरी विगतमा योगदान दिएका थिए, सोही अनुरुप जनताको विकास निर्माणको कार्यका लागि पनि जनप्रतिनिधिमा निर्वाचित भएर आइसकेपछि उनीहरुमा शासकको प्रवृत्ति हावी नभएर जनताको सेवक हुँ भन्ने भावनाको विकास हुन नसक्दा जनता र जनप्रतिनिधिहरुका बीच सम्बन्ध बिग्रिदै जान थालेकामा पनि अध्यक्ष दाहालले चिन्ता व्यक्त गरे ।

देशमा यतिखेर तीनै तहका जनप्रतिनिधिहरु क्रियाशील भइरहेको अवस्थामा उनीहरुले जसरी जनमुखी कार्यक्रममार्फत पार्टीलाई अग्रभागमा पु¥याउन सक्नुपर्दथ्यो, त्यसो नभएका कारण पनि दलप्रति जनतामा निराशा छाउँदै जान थालेकाले जनप्रतिनिधिहरुले सजगता अपनाउनु पर्ने कुरामा अध्यक्ष दाहालले जोड दिएका छन् । जनआन्दोलनले राजा फाले पनि कर्मचारीतन्त्रमा आमूल परिवर्तन ल्याउन नसकेका कारण विकास निर्माणका कार्यहरुमा अवरोध सिर्जना भइरहेको उनले बताए । अध्यक्ष दाहालले भने– ‘बहुमतको सरकारले कानुन निर्माण गरेर भए पनि जनविरोधी कर्मचारीलाई ठेगाना लगाएरै जनताको विकास निर्माणका कार्यमा उत्तरदायी बनाउँदै लैजाने अभियानको थालनी गर्नुपर्ने समेत दाहालले बताए । यथेष्ट कानुन नभएका कारण सबै तहमा जनप्रतिनिधिहरु पनि कर्मचारीजस्तै लावारिस बन्नुपर्ने अवस्था आएको छ ।

अध्यक्ष दाहालले जनप्रतिनिधिहरुलाई जिम्मेवार बनाएर लैजान सकेको खण्डमा मात्र नेपाल कम्युनिष्ट पार्टीको साख बच्न सक्ने नत्र भने आफ्नै कारणले बहुमतको सरकार आफै ओरालो लाग्न सक्ने खतरा रहेको बताए ।

अध्यक्ष पुष्पकमल दाहलले सुदूरपश्चिमको विकासदेखि लिएर पार्टीका हरेक महत्वका विषयमा आफूले सुदूरपश्चिमलाई पहिलो प्राथामिकतामा राख्ने र सो कुराको सन्देश पार्टी मुख्यालयमा समेत पु¥याउने बाचा गरे । उनले कर्णाली प्रदेशलाई उत्तरी चीनसँग जोड्ने हिल्सा–सुर्खेत नाका सञ्चालन भए सुदूरपश्चिमलाई पनि सहज हुने भएकाले उक्त नाका खोल्नका लागि आफुले पहल गरिरहेको बताए । चिनियाँ राष्ट्रपती सी चिनफिङको नेपाल भ्रमणका क्रममा हिल्सा–सुर्खेत नाका सञ्चालन गर्ने समझदारी भएको बताउँदै प्रचण्डले त्यसले सुदूरपश्चिमले पनि लाभ त्यसको प्रत्यक्ष लाभ लिन सक्ने कुरामा जोड दिए ।

स्थानीय तहका जनप्रतिनिधीको विशेष प्रशिक्षण कार्यक्रम चीनका राष्ट्रपति सी चिङफिङको भ्रमणका क्रममा सुदूरपश्चिमका कुनै पनि मुद्दा समावेश नभएको गुनासोपछि उनले यस्तो आश्वासन दिएका हुन् । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा कर्णाली प्रदेशमा पर्ने हिल्सा–सुर्खेच सडकलाई चिनियाँ राष्ट्रपतिको भ्रमणका समयमा उच्च प्राथामिकता दिएको बताउँदै भने, ‘सुदूरपश्चिमलाई जति ध्यान दिनुपर्ने हो, दिइएको छैन भन्ने कुरा आएको छ, सुदूरपश्चिमको चिन्ता देशको नेतृत्वलाई पनि छ।’

पञ्चेश्वर परियोजना निर्माणका बिषयमा पनि प्रधानमन्त्री ओलीसँग छलफल गरेको समेत प्रचण्डले सो अवसरमा बताए । पश्चिम सेतीका लागि पनि तत्कालिन उर्जमन्त्री पोष्टबहादुर वोगटीको पालमा चिनियाँ कम्पनीलाई निर्माणको ठेक्का दिने भनिए पनि अहिले अलपत्र पारेकोमा चिन्ता व्यक्त गरे । चीनको थ्री गर्जेज कम्पनीले पश्चिमसेती आयोजनामा काम गरिरहेको भए पनि गत वर्ष अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा पश्चिम सेती आयोजना नेपालले नै बनाउने भनेर बोलेपछि चिनियाँ कम्पनीले हात झिेकेका थिए ।

कार्यक्रममा बोल्दै नेकपा स्थाई कमिटी सदस्य सुदूरपश्चिम ईन्चार्ज एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले देशलाई विभिन्न,जात जाती धर्म संस्कृतिका मानिहरुलाई एक आपसमा लडाएर देशलाई बिखण्डनको वाटोमा डोरयाउन खोज्ने प्रवृत्तिलाई नेपाली जनताले निर्वाचनको माध्यमबाट निकै ठूलो झापड हानेको बताए ।

प्रतिक्रिया दिनुहोस्