काठमाडौं । प्रदेश १ को नामाकरणका लागि प्रदेश १ प्रदेशसभामा दुई वटा प्रस्ताव दर्ता भएको छ । र, आजै नाम छिनोफानो हुनेछ ।
सुरुमा कांग्रेस र एमाले मिलेर प्रदेशको नाम ‘कोशी’ प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि एकीकृत समाजवादी र जनता समाजवादीले ‘किरात–लिम्बूवान–सगरमाथा’ नाम प्रस्ताव दर्ता गराए ।

अन्य पार्टीले प्रस्ताव दर्ता गराएपनि नेकपा माओवादी केन्द्रले भने कुनैपनि समूहमा रहेर प्रस्ताव दर्ता गराएन । बरु, एमालेले प्रस्ताव गरेको कोशीकै पक्षमा मतदान गर्ने निर्णय गर्यो ।
सुरुमा एमालेसँग कोशी प्रदेशका लागि प्रस्ताव दर्ता गराएको कांग्रेसले पछि भने समर्थन फिर्ता लियो । यसलाई कांग्रेसको कच्चा राजनीति भनेर टिप्पणी गरिएको छ ।
भएको के हो ?
प्रदेश १ को नाम राख्न आन्तरिक रुपमा कांग्रेस, एमाले र माओवादी सहमत भइसकेका हुन् । सोही सहमतिअनुसार एमालेले प्रस्ताव तयार पारेको हो । त्यसमा कांग्रेस पनि मिसिएको हो ।
प्रस्ताव दर्ता भइसकेपछि भने ‘कोशी नामकै लागि भएपनि आफ्नो नेतृत्वमा प्रस्ताव दर्ता गराएको भए हुन्थ्यो । किन एमालेको प्रस्तावमा समर्थक बनेको ?’ भन्दै कांग्रेस प्रदेश १ मा नेृत्वको आलोचना र विरोध भयो ।
त्यसैगरी, भर्खरै बनेको आठ दलीय गठबन्धनको मर्मविपरीत कांग्रेसले एमालेसँग सहकार्य गरेको भन्दै गठबन्धनका दलहरुले पनि कांग्रेस नेतृत्वको आलोचना गरेका थिए ।
आन्तरिक र बाह्य दुवैतर्फबाट कांग्रेसले एमालेको प्रस्तावमा गरेको समर्थनको विरोध भएपछि कांग्रेसले अन्तिममा समर्थन फिर्ता लिएको हो । कांग्रेसले समर्थन फिर्ता लिएपनि मतदान भने कोशीकै पक्षमा गर्ने बुझिएको छ ।











