विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले नेकपा एमाले र नेपाली कांग्रेसले पूर्वप्रतिवद्धता छाडेर प्रदेशको नाम कोशी प्रस्ताव गरेको आरोप लगाएका छन् ।
बुधबार प्रदेशसभा बैठकमा प्रदेश १ को नाम ‘किरात लिम्बुवान सगरमाथा’ प्रस्ताव गर्दै उनले एमाले र कांग्रेसले पूर्वप्रतिवद्धता भुलेको बताएका हुन् ।

उनले एमालेले संविधानसभाको दुईवटै चुनावको प्रतिवद्धतामा पहिचानसहितको प्रदेशको विषय उठाएपनि अहिले आएर ती प्रतिवद्धता भुलेको बताए । उनले पहिलो संविधानसभामा पहिचान र भूगोल जोडेर नामाकरण गर्ने गरी १३ वटासम्म प्रदेश मान्न सकिने भनी एमालेले नै प्रस्ताव गरेको दाबी गरे ।
कांग्रेसले पनि विगतमा पहिचानलाई स्वीकार गरेको तर, अहिले आफ्नो प्रतिवद्धतालाई लत्याएको उनको भनाइ छ । उनउनको आरोप छ । उनले भने, ‘द्वन्द्व पनि मेटिने पहिचान पनि भेटिने नाम राख्नुपर्छ भनेको थियो कांग्रेसले । तर, अहिले आफूले गरेको प्रतिवद्धता बिर्सिएको छ ।’











