काठमाडौं । नेपाली रेस्लर भगवती खड्का ‘युनिका’ले अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । भक्तपुरको सल्लाघारीमा सोमबार भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई पराजित गरेकी हुन् ।

होलीको अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई हराईन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाल ब्रोले पाकिस्तानका शेर खानमाथि जित हात पारे । रिङसम्म पुग्न नेपाल ब्रोले कार तथा शेर खानले मोटरसाइकल प्रयोग गरेका थिए ।
नेपालका कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर)ले पाकिस्तानका अली खानलाई पाखा लगाए । जम्मा चार स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
नेपालसहित भारत, पाकिस्तान र अमेरिकाका रेस्लर सहभागी प्रतियोगितामा स्कोरपियाको नामले चिनिने नेपाली रेस्लर हिक्मत थपलियाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । वि.सं. २०७१ सालमा स्थापना भएको फाउन्डेसनले पहिलोपटक भक्तपुरमा अन्तर्राष्ट्रिय रेस्लिङ आयोजना गरेको हो ।










