Logo
Logo

देशका विभिन्न ठाउँबाट ठूलो रकमसहित जुवाडेहरु पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १० कात्तिक । काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् । उनीहरुलाई कानूनअनुसार कारवाही गरिने बताइएको छ ।

दश लाख ५८ हजार नगदसहित जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार ५१० रुपैयाँ नगदसहित नौ जना जुवाडे पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका– ६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा जुवा खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले तासका गड्डी र नगदसहित जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । जुवाडेलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पाँच लाखसहित १३ जुवाडे पक्राउ

पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा करीब रु पाँच लाखसहित पक्राउ परेका छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकास्थित स्वर्गीय हुमबहादुर कँुवरको घरबाट आज बिहान ती जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार मानिस नबस्ने खाली घरमा कौडा खेलिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउपर्नेमा तानसेन नगरपालिका–२ का ४४ वर्षीय अमन श्रेष्ठ, रैनादेवीछहरा गाउँपालिका–४ का ३२ वर्षीय देवकुमार पराजुली, रिब्दीकोट गाउँपालिका–७ डबका यमबहादुर कँुवर, सोही स्थानका ६० वर्षीय गोपाल कुँवर, २६ वर्षीय कलम कुँवर, ५४ वर्षीय ताराबहादुर कुँवर, ३२ वर्षीय विष्णुबहादुर थापा, २२ वर्षीय सचिन कुँवर, २० वर्षीय समुद्र कुँवर, ५७ वर्षीय नारायण कँुवर, २२ वर्षीय गौरव कँुवर, ४५ वर्षीय शिव चौहान र ४० वर्षीय सुन्दर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताउनुभयो ।

उनीहरुको साथमा पाँच लाख ४५ हजार ८५५ नेपाली रुपैयाँ रहेको छ । दुई हजार ५२० भारतीय पैसा रहेको छ ।

छ जुवाडे पक्राउ

त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो ।

केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले छ जना जुवाडेलाई पक्राउ गरी रु ८१ हजार ८९५ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

बीरेन्द्रनगर नगरपालिका– ९ बस्ने ४२ वर्षीय गोपाल गुरुङ, ३८ वर्षीय सरोज बस्नेत, ४१ वर्षीय राजन गिरी, ३७ वर्षीय मनोज पन्त, २९ वर्षीय नानुसिंह ठकुरी र सोही नगरपालिका– ६ सुर्खेतका ४८ वर्षीय मुकुन्द मानन्धरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दिपावलीलाई सभ्य र सुरक्षितरुपले मनाउन ९ बजेसम्म मात्र देउसी भैलो खेल्न, जुवातास तथा लङ्गुर बुर्जा नखेल्न, मादक पदार्थ सेवन नगर्न, जबर्जस्ती रकम नअसुल्न र कानूनद्वारा बर्जित काम नगर्न पनि प्रहरीले सार्वजनिकरुपमा सूचना प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्