Logo
Logo

पुस्तकमा ‘पाकिस्तानी महिला लेखन’



काठमाडौं, ३० पुस । राजधानीमा एक कार्यक्रमबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कुलपति गंगाप्रसाद उप्रेती, नेपालका लागि पाकिस्तानका महामहिम राजदूत डा. मजहर जाबेद र प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले ‘पाकिस्तानी महिला लेखन’ नामक पुस्तकको लोकार्पण गरे ।
कार्यक्रममा मन्त्री ज्ञवालीले महिला लेखकको दोहोरो जिम्मेवारी हुने बताए । उनले नेपाल र पाकिस्तानका बिचमा निकटता ल्याउन धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भने, ‘पाकिस्तानी साहित्य गजल र सायरीका कारण पनि धेरै चर्चित । साथै भाषा, साहित्य र कलाले नेपाल र पाकिस्तानका नागरिकका बिचमा सुमधुर सम्बन्ध कायम गरिरहेको छ ।’
प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले ‘पाकिस्तानी महिला लेखन’ महत्वपूर्ण पुस्तक भएको र उक्त पुस्तक नेपाली भाषामा उल्था हुनु खुसीको कुरा भएको बताए । उनले पाकिस्तान एकेडेमी अफ लेटर्सको प्रस्तावमा पुस्तक नेपाली भाषामा उल्था गरिएको बताए ।

कुलपतिले साहित्यिक आदान प्रदान अन्तर्गत पाकिस्तानका पाँच भाषामा अनूदित गरी नेपाली कविताको एन्थोलोजी ‘भ्याइस अफ नेपाल’ प्रकाशित हुने सुनाउँदै भने, ‘उक्त एन्थोलोजीमा नेपालका धरणीधर कोइरालादेखि शशी लुमुम्बूसम्मका कविहरू समेटिने छन् । अनुवाद तथा प्रकाशनका लागि कविताहरू छनौट गरिएको र उक्त पाण्डुलिपि माघ ३ गते पाकिस्तानको राजधानी स्लामवादमा पाकिस्तान एकेडेमी अफ लेटर्सलाई हस्तान्तरण गरिने कार्यक्रम छ ।’
कुलपति उप्रेती पाकिस्तान एकेडेमी अफ लेटर्सको निमन्त्रणामा यही माघ १ गते एक साता लामो भ्रमणका लागि मकालु प्रकाशन गृहका निर्देशक वासुदेव ढकाल र प्रतिष्ठानका कर्मचारी रविन्द्र तिमल्सिनाका साथ पाकिस्तान जाने कार्यक्रम रहेको छ । एक वर्षअघि काठमाडौँमा प्राज्ञिक तथा सांस्कृतिक आदान प्रदानका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमी अफ लेटर्सबिच सम्झौता भएको थियो ।
लोकार्पण समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत डा. मजहर जाबेदले नेपाल र पाकिस्तानबिचको सम्बन्ध सुमधुर बनाउन साहित्य एवम् कलाले सिर्जनानात्मक भूमिका खेल्ने बताए । पुस्तकमा उर्दूभाषाका ३२, पन्जाबी र सराइकी भाषाका तीन कथा, पाँच कविता, सिन्धी भाषका दुई कथा, तीन कविता, बलोची भाषका दुई कथा, एक कविता, पस्तु भाषाका एक था, तीन कविताका साथै अङ्ग्रेजीका भषाका सात कथा र बाह्र कविता समाविष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्