Logo
Logo

प्रेम प्रस्तावलाई सिरियस्ली लिन्नँ- पवित्रा गुरुङ, गायिका


- दृष्टि न्युज/संवाददाता


एक समय रेडियो ट्यून गर्नेवित्तिक ‘जाली माया’ बोलको गीत गुञ्जिन्थ्यो । उक्त गीतको चर्चासँगै सांगीतिक क्षेत्रमा स्थापित भएकी गायिका हुन्, पवित्रा गुरुङ । पछिल्लो समय उनी ‘भर्सटायल गायिका’का रुपमा चिनिन्छिन् । सन् २०११ तिर संखुवासभा, मच्छेपोखरीबाट गायिका बन्ने सपना बोकेर राजधानी छिरेकी पवित्रा भन्छिन्, ‘सानैदेखि गीत गुन्गुनाउँथेँ, बुझ्ने भएपछि आफ्नै शब्द, संगीत र स्वरमा गीत रेकर्ड गर्नलाई पहिलोपटक काठमाडौं आएकी हुँ ।’ त्यो उनको पहिलो गीत थियो, ‘कुक्कू कुक्कू’ । त्यस यता पवित्राले करिब ९ वर्षको अन्तरालमा तीन सोलो एल्बमसहित एक सयभन्दा बढी गीत गाइसकेकी छन् । पवित्राका ‘पिरती’, ‘क्लासिक’ र ‘तिम्रो मायाले’ सोलो एल्बम हुन् । सुगम संगीतदेखि लिएर भाषाभाषी र लोकगीतसम्म गाउँछिन् उनी । यिनै नेपाली गीतसंगीतकी ‘भर्सटायल गायिका’ पवित्रा गुरुङसँग एमपी सुब्बाको जम्काभेट ।

हिजोआज कहाँ के गर्दै हुनुहुन्छ ?

म काठमाडौंमै छु । रेकर्डिङहरुमै व्यस्त हुँदै आएकी छु । केही समयअघि मात्र रोशन बालुवासँग दुईटा गीत गरेकी थिएँ । साथै, मेरो नयाँ गीत ‘दिलको चोट’ भर्खरै यु–ट्युबमार्फत रिलिज गरेकी छु ।

गीतसंगीतमा लाग्नुभएको कति भयो ?

सन् २०११ देखि म गीतसंगीतमै छु । करिब नौ वर्ष भएछ । तर, म सन्तुष्ट नै छु ।

पहिलोपटक काठमाडौं केका लागि आउनुभएको थियो ?

गायिका बन्छु भनेरै काठमाडौं आएकी हुँ । यो सन् २०११ कै कुरा हो । त्यतिखेर मेरो आफ्नै शब्द, संगीत र स्वरमा ‘कुक्कू कुक्कू’ बोलको गीत रेर्कड गर्न आएकी थिएँ । त्यस यता निरन्तर म गीतसंगीतमै छु ।

गीतसंगीत क्षेत्र नै किन रोज्नुभएको नि ?

सानैदेखि म गुन्गुनाउँथे । रेडियोमा गीत सुन्दा एकदिन म पनि गायिका बन्छु भन्ने सोचेकी थिएँ । जब बुझ्ने भएँ, त्यसपछि गीत गाउन सुरु गरेकी हुँ ।

ख्यालख्यालमै संगीत तपाइँको एक दशक बित्न लागेछ । यहाँसम्म आउँदा कति गीत गाउनुभयो ?

म सबै प्रकारमा गीत गाउँछु । सोलो एल्बम नै तीन वटा ल्याइसकेकी छु । लोकगीत, भाषाभाषीका गीत र भजनहरु पनि गाउँने गरेकी छु । भजनबाहेक पनि एक सयभन्दा बढी गाइसकेकी छु ।

तपाइँको बढी रुचाइएको गीत कुन हो ?

सुरु–सुरुमा गाएका अधिकांश गीत श्रोताले रुचाएका थिए । मेरो तीन वटा सोलो एल्बममध्ये ‘पिरती’का गीतहरु दर्शक÷श्रोतामाझ चर्चित बनेको थियो । ‘पिरती’ एल्बमकै गीत ‘जाली माया’ रेडियोमा अत्याधिक बज्यो । जसले मलाई गायिकाका रुपमा समेत स्थापित ग¥यो । तर, अहिले पहिलेजस्तो छैन । अहिले श्रोताले कस्तो गीत श्रोताले रुचाउँछन् भन्ने नै भ्याउ पाउन छाडिएको छ । हिजोआज स्तरिय गीतभन्दा चर्चाका लागि गाउने चलन बढ्दै गएको छ ।

तपाइँका गीत चर्चित छन् । तर, स्टेज कार्यक्रममा किन कम देखिनुहुन्छ ?

सायद अरु गायक÷गायिका भन्दा कम नै देखिन्छु । म स्टेजमा भन्दा स्टुडियोमै बढी व्यस्त छु । मलाई नेपालमा भन्दा विदेशमा कार्यक्रम गर्ने इच्छा छ । नेपालभित्रका लागि त अफर आइरहेकै छन् । तर, मेरो प्राथमिकता विदेश कार्यक्रम हो । तर, त्यो अहिलेसम्म जुरेको छैन ।

अब सधैं गीतसंगीतमै व्यस्त हुने कि घरजम पनि गर्ने हो ?

घरजम त गर्नुपर्छ नि । तर, त्यसका लागि समय आउनुपर्छ । घरजम गर्ने उमेर पनि भएको हो । तर, नजुरेसम्म नहुने रहेछ ।

मंसिर लाग्दैछ । यही मंसिरमा जुर्ला कि ?

त्यस्तो खाशै नहोला । यो मंसिरमा लगन जुराउनका लागि त अहिलेदेखि नै सोच हुुनुप¥यो नि । त्यो सोच नै पलाएको छैन ।

प्रेम प्रस्ताव कतिको आउँछ ?

प्रेम प्रस्ताव त आइहाल्छ नि । तर, मैले अहिलेसम्म अफेयर्स चलाउने सोच नै बनाएकी छैन । त्यसैले प्रेम प्रस्तावलाई मैले सिरियस्ली लिएकी छैन ।

प्रतिक्रिया दिनुहोस्