Logo
Logo

दुई महीनादेखि अस्पतालमै बन्धक !


- दृष्टि न्युज/संवाददाता


परासी, ३० पुस । अस्पतालमा उपचारमा लागेको खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक छन् । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक भएका छन् ।
गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उनलाई उक्त अस्पताल भर्ना गरिएको थियो । उपचारको खर्च करीब नौ लाख लागेकोमा बिरामी पक्षले अहिलेसम्म चार लाख तिरेको उनकी श्रीमती ज्ञान बेलदारले जानकारी दिए । बाँकी पाँच लाख अस्पताललाई तिर्न नसकेपछि पछिल्लो दुई महीनादेखि बेलदार अस्पतालमा नै बन्दी बनेको बेलदारकी श्रीमती ज्ञानले गुनासो गरिन् । ठेकेदार थगवा चौधरीको ट्र्याक्टरले खेत जोत्दै गर्दा बेलदार ट्र्याक्टरबाट खेसेर ट्र्याक्टरको हलोमुनि परी गम्भीर घाइते भएका थिए ।
अहिलेसम्मको केही पैसा ट्र्याक्टरधनी चौधरीले तिरिदिएको भए पनि बाँकी पैसा तिर्न नसकेपछि बिरामीलाई अस्पतालले घर जान दिएको छैन । केही पैसा गाउँमा चन्दा उठाएर दिने र केही पैसा अस्पतालले छुट गरिदिन माग गर्दासमेत अस्पतालले अस्वीकार गरेको सुनवलकी समाजसेवी विमला अर्यालले जानकारी दिए ।
ज्यालादारी गरेर परिवार चलाउँदै आएका मजदुर बेलदारको परिवारमा ससाना तीन बच्चासहित पाँच जनाको परिवार छ । परिवारको मुख्य व्यक्ति नै अस्पतालमा बन्धक भएपछि बेलदार परिवारलाई अहिले दैनिक छाक टार्न समस्या भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्