काठमाडौ. । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको उपाधि एपीएफ क्लबले जितेको छ । बिहीबार टियु मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गरि एपीएफ च्याम्पियन भएको हो ।

एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो ।
उपाधिसँगै विजेता एपिएफले दुई लाख र उपविजेता कोशीले एक लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै एपिएफ क्लबकी सीताराना मगर सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । त्यस्तै कोशीको कप्तान रुविना क्षेत्रीबेलबासे उत्कृष्ट ब्याटर र युवा तीव्र गतिकी बलर निशा शाह उत्कृष्ट बलर चुनिन् ।
बिजयी टीमलाई ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन लगाएतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गरेका थिए ।











