Logo
Logo

तारकेश्वरमा जेसुम यात्रा



काठमाडौं, ३० पुस । कला, साहित्य तथा रङ्गमञ्चलाई माध्यम बनाएर विगत चार महिनाअघि सुरु गरिएको जेसुम यात्राको चौथो शृङ्खला यस पटक तारकेश्वरमा सम्पन्न भएको छ ।
यात्रा क्रममा कवि, लेखक एवं चित्रकारहरु नुवाकोट–काठमाडौं सिमाना तीनपिप्लेबाट डेढ घण्टाको पैदलयात्रामा २७ गजुरको सुनौलो भुवनेश्वरी मन्दिर, तिब्बती युद्ध आक्रमणको मिथक गाँसिएको ऐतिहासिक पाँचमाने, राजा महेन्द्रले वृक्षरोपण गरेका घना सल्लेरी जङ्गल हुँदै तारकेश्वर मन्दिर पुगेका थिए ।
त्यसपछि कलम र कुचीले कोही जङ्गलको हरियाली उतार्न मस्त भए भने कोही मन्दिरसँगैको बाबाजीको कुटीलाई केन्द्रबिन्दुमा राखेर तारकेश्वरलाई सजाउनमा मस्त भए । प्रत्येक स्थानहरूमा टेक्दै जाँदा तारकेश्वरको स्थानीयता, भौगोलिकता, ऐतिहासिक मिथक र जनजीवनसँग सम्बन्धित मौलिकताका विषयमा हरिशरण लामिछानेले सर्जकहरूलाई आफ्ना ज्ञान र अनुभव बताउँदै गएका थिए । उनी तारकेश्वर नगरपालिकाको तारकेश्वर मन्दिर अवस्थित वडाकै वडा सदस्य पनि हुन् ।


तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा जेसुम टिमलाई तारकेश्वरमा नवनिर्माण भएको भ्यू टावरसम्म पु¥याउने चाहना यो पटक समेट्न नसकिएकोमा केही खिन्न देखिन्थे । भुवनेश्वरीका सामुन्ने महत्वपूर्ण पहाडस्थित भ्यु टावर बिहानीको घामले टिलिक्क टल्किएको मात्रै देखिएको थियो । स्थानीय अनन्तमणि आचार्य आफैमा पनि चित्रकार भएको तर यस्तो रचनात्मक अभियान गर्न जेसुम यात्राले हौसाएकोमा निकै प्रसन्न देखिए ।
आ–आफ्नो कला, सृजना बोकेर प्रकृतिलाई सकेसम्म अझ नजिक बनाउँदै जेसुम यात्रीहरू तारकेश्वरबाट ओरालो झरेर वनजङ्गल रिसोर्टको मौलिक काष्ठकलाको सज्जासँग रमाउँदै आ–आफ्ना प्रस्तुतिहरू सुनाउन र देखाउन तम्सिए । नेपाल ललितकला एकेडेमीका प्राज्ञ बुद्धि गुरूङ्ग अर्का प्राज्ञ लालकाजी लामा टेको लिएरै भए पनि तारकेश्वरको सिँढी उक्लिए र जेसुम अभियानलाई सशक्त बनाउन युवा सर्जकहरूको सकारात्मक अभियानलाई शुभकामना दिए ।
नेपाल एकेडेमीका प्राज्ञ शशी लुमुम्बुले साहित्य, सृजना यात्राहरू थुप्रै ठाउँहरुमा भइरहेको तर जेसुमको परिकल्पना फरक सुन्दरता रहेको बताए । स्रष्टाहरू दिपक लोहनी, फूलमान वल, सोम धिमाल, केशवराज खनाल, अनिता लामा, वीरबल तामाङ, सुजाता अधिकारी, मङ्गल बादे, दीपक लोहनी, बिक्रम प्रजापति, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर, बाबु साँहिला तथा गणेश बुढालगायतले तारकेश्वरलाई केन्द्रभागमा राखेर सृजना गरेका रचनाहरू सुनाए । चित्रकारहरुले चित्र प्रदर्शनी गरे । यसपटकको यात्रामा चित्रकार केशवराज खनाल, बाबु साइँला, कान्छाकाजी भासिमा, विक्रम प्रजापति, प्रकाश मानन्धर लगायतले भाग लिएका थिए ।
‘जेसुम यात्रा मूलतः सकारात्मकताका लागि हो । हाम्रो आफ्नो संस्कृति र मौलिकतालाई आधार मानेर सृजना गरिने एक सृजना यात्रा पनि हो,’ अभियानकी संयोजक अनिता लामाले भनिन्, ‘हामी विद्रोह र ध्वंशबाट अलिकति अगाडि बढ्ने क्रममा छौं, त्यसैले यो अभियान निर्माणमा लागौं भन्ने अभिप्रेरणाका लागि पनि हो ।’

प्रतिक्रिया दिनुहोस्