
विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । गए राति विराटनगरको सहिद रङ्गशालामा भएको फाइनल खेलमा पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै साविक विजेता आर्मीले उपाधि जितेको हो ।
खेलको ४१औँ मिनेटमा आर्मीका लागि काशीराज राईले गरेको गोल नै निर्णायक बन्यो । म्यान अफ द म्याच आर्मीकै नितिज न्यौपाने घोषित भए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसका हरिदत्त पाण्डे, उदीयमान खेलाडी सुदूरपश्चिम प्रदेशका महेश नेपाली, सर्वाधिक गोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट डिफेन्डर पुलिसका योगेश बारघरे र सर्वोत्कृष्ट खेलाडी आर्मीका नितिश न्यौपाने घोषित भए ।
प्रतियोगिताको उपाधि विजेता आर्मीले ७५ हजार र उपविजेता नेपाल पुलिस क्लबले ४१ हजारका साथै ट्रफी प्राप्त गरेको छ । त्यस्तै मधेस प्रदेशलाई पराजित गर्दै तेस्रो स्थान बनाएको सुदूरपश्चिम प्रदेशले २५ हजार प्राप्त गरेको छ । यही चैत २२ गतेदेखि सुरु भएको सो प्रतियोगितामा आर्मी, पुलिस, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो ।











