Logo
Logo

‘बुटी’ खाएपछि ‘नेतालाई सिस्डोलमा डम्प गर्ने’


6.9k
Shares

‘आजबाट सिंहदरवारको फोहोर उठ्दैन, साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

यो घोषणा हो, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको । उनले सिंहदरवारको फोहोर नउठाउने घोषणा गर्दै सिंहदरवारविरूद्ध सामाजिक सञ्जालमार्फत फायर खोलेका हुन् ।

मेयर साहको यो अभिव्यक्तिलाई लिएर मिश्रित प्रतिक्रिया आएको छ । एकथरिले यसलाई जायज भनेका छन् । यसरी जायज ठान्नेहरू बालेन्द्रले जे गरे पनि, जे बोले पनि ठीकै ठान्ने उनका सदाबहार डाइहार्ट फ्यानहरू छन् । तर, अधिकांशले भने मेयर साहको अभिव्यक्तिलाई सामान्य अभिव्यक्तिका रूपमा लिएका छैनन् ।

उनीहरूले सिंहदरवारको फोहोर नउठाउनुलाई एक किसिमको विद्रोह भन्दै विरोधको तरिका भनेर जायज मान्न सकिए पनि देश सफा गर्नुपरे त्यहाँ (सिंहदरवार) का नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ’ भनेर व्यक्त गरेको धारणालाई सभ्य धारणा मान्न सकिँदैन ।

बोल्ने मात्र हैन, डोजर चलाउनेजस्ता निर्णय पनि बालेनले बुटी चढाएकै बेला लिएका हुन् । बुटी चढाएको बेला उनलाई उकास्ने मान्छे वरिपरि भए भने त उनी जस्तोसुकै निर्णय गर्न पनि पछि पर्दैनन् । देशको संघीय राजधानी रहेको महानगरका सचेत मतदाताले यस्तो मेयर छानेर गल्ती गरे ।

हुन पनि हो यो एक किसिमको आपराधिक धारणा नै हो । एउटा सामान्य मानिसले यस्तो धारणा सार्वजनिक गर्नसक्दैन । अझ त्यसमा पनि संघीय राजधानीको मेयरजस्तो पदमा रहेको व्यक्तिबाट त यस्तो धारणा आउनु अनपेक्षित नै हो ।

मेयर साहका कोर टिमका मानिस नै उनलाई ‘ट्यापे’ भन्छन् । उनीहरूका अनुसार अरू बेला ठीक भएपनि बुटी चढाएको बेला भने उनी सामान्य मान्छे हुँदैनन् । आफू खुशी फायर खोल्छन् । जब होसमा आएर समस्यामा पर्छन्, तब त्यसलाई सच्याउन सहयोग माग्छन् । तर, उनी आफ्नो भनाइबाट पछि हट्दैनन् ।

मेयर साहको यो बानी उनका लागि मात्र हैन, उनको कोर टिमका लागि पनि समस्याका रूपमा रहँदै आएको छ । बोल्ने मात्र हैन, डोजर चलाउनेजस्ता निर्णय पनि उनले बुटी चढाएकै बेला लिएका हुन्, उनको कोर टिमका एक सदस्य भन्छन् । बुटी चढाएको बेला उनलाई उकास्ने मान्छे वरिपरि भए भने त उनी जस्तोसुकै निर्णय गर्न पनि पछि पर्दैनन् ।

मेयर साह यो आपराधिक पोस्टको चौतर्फी आलोचना भएपछि रक्षात्मक देखिएका छन् । यसै क्रममा उनले आफूले सिंहदरवारको फोहोर नउठाउनुका १४ कारण सार्वजनिक गरेका छन् । अधिकांश कारणमा उनले सरकारका मन्त्री र मन्त्रालयले उनले अगाडि बढाउन चाहेका योजनामा सहयोग नगरेको आरोप लगाएका छन् ।

उनले सिंहदरवारको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरवारले फोहोरमा देखोस् भनेर फोहोर नउठाएको स्पष्टीकरण दिएका छन् । तर, उनले सिंहदरवारकालाई सिस्डोलमा डम्प गर्नुपर्छ भनेर दिएको आपराधिक भनाइका बारेमा भने केही पनि उल्लेख गरेका छैनन् ।

यसैबीच गृहमन्त्री नारायणकाजी श्रेष्ठले मेयर साहको क्रियाकलापलाई लिएर प्रतिक्रिया दिएका छन् । उनले मेयरले गर्ने काममा आफ्नो केही नभन्ने तर, हामीले सहयोग गर्ने कुरामा चाहिँ औचित्य पुष्टि गर्ने गरी तथ्य दिनुपर्ने र त्यसबारेमा समय लिएर सुविचारित रूपले स्टेप चाल्ने बताएका छन् ।

उनले सिधै नभने पनि उनको आशय मेयरले चाहदैमा सरकारले लहडका भरमा बल प्रयोग गर्ने कुरा आउँदैन भन्ने नै थियो ।

हुन पनि हो, संघीय सरकारलाई एक स्थानीय सरकारले आदेश दिन थाल्यो र त्यो मानेन भन्दैमा संघीय सरकारका पदाधिकारीलाई डम्पिङ साइटमा गाड्नुपर्छ भन्न थाल्ने हो भने त्यसको परिणाम के हुन्छ ? यो त एक किसिमले भन्ने हो भने कुकुरले मान्छे टोक्ने होइन, मान्छेले कुकुर टोक्नेजस्तो भयो ।

नेपाल बहुदलीय शासन व्यवस्थामा आधारित संविधान र त्यसअनुसारको प्रणाली र विधि विधान भएको देश हो । यस्तो परिपाटी भएको देशमा दलविहीन स्वतन्त्र उम्मेदवारलाई प्रतिनिधि छान्नु र त्यस्तो मेयरबाट आफ्नो प्रतिनिधित्व हुन्छ भन्ने जनताको निस्कर्ष नै सही हैन ।

देशको संघीय राजधानी रहेको महानगरका सचेत मतदाताले यस्तो मेयर छानेर गल्ती गरेकै हुन् । हुनै नसक्ने असम्भव कुरा गरिदिन्छन् भनेर रविन्सन क्रुसो खोज्दा भेटिएका साहको एकलकाँटे लहडी स्वभावका कारण काठमाडौँ पाँचवर्ष एक्लिने र पछि पर्ने सम्भावना बढ्दो छ ।

हो, नेपालका ठूला दल र तिनका नेताहरूले जनताको अपेक्षाअनुसारको डेलिभरी दिन सकेका छैनन् । प्रायः सबै भ्रष्टाचारमा डुबेका छन् । यो सत्य हो तर त्यसो भन्दैमा जनताले के बुझ्न जरुरी छ भने दलीय व्यवस्थामा निर्दलीय व्यक्ति दलको विकल्प हुन सक्दैन । दलीय इन्जिनमा निर्दलीय पुर्जा फिट हुँदैन ।

काठमाडौंका मेयर साह, त्यस्तै एक फिट नहुने इन्जिन हुन् । भनाइ नै छ, बोकाले दाइँ हुने भए गोरू किन चाहिन्छ ? ढिलोचाँडो काठमाडौंका जनताले यो सत्य बुझ्ने नै छन् । र, भन्नेछन्, हामीले गलत मेयर छानेछौं । हुन पनि हो, नेताहरूलाई सिस्डोलमा गाड्नुपर्छ भने अपराधिक सोच बोकेको मेयरले काठमाडौंजस्तो सभ्य र सुसंस्कृत परिचय बनाएको महानगरवासीको प्रतिनिधित्व कसरी गर्न सक्छ र ?

प्रतिक्रिया दिनुहोस्