Logo
Logo

के अहिले सेयर किन्ने बेला हो ?


0
Shares

सेयर बजारमा लगानी गर्ने उपयुक्त समय कुन हो ? बजार बढिरहेको बेला लगानी गर्ने कि घटिरहेको बेला ? धेरैजसो सर्वसाधारण लगानीकर्ताले बजार बढ्न थालेपछि सेयर किन्न खोज्छन् र घट्न थालेपछि बेच्ने हतार गर्छन् । तर सफल लगानीकर्ताहरूको अनुभवले बजारमा अवसर प्रायः निराशा र अनिश्चितताका बीचमा देखिने गरेको बताउँछ ।

अहिले नेपालको सेयर बजारमा पनि यस्तै परिस्थितिबारे बहस गर्न सकिन्छ । एकातिर सेयर मूल्यमा गिरावट र लगानीकर्ताको कमजोर मनोबल छ भने अर्कातिर बैंक तथा वित्तीय संस्थाको ब्याजदर विगतको तुलनामा सस्तो भएको छ । यस्तो अवस्थामा सर्वसाधारण लगानीकर्ताले बजारबाट टाढा बस्ने कि सम्भावित अवसर खोज्ने ?

वारेन बफेटको लगानी दर्शनले एउटा महत्त्वपूर्ण कुरा सिकाउँछ– बजारमा अरू लोभी भएका बेला डराउन र अरू डराएका बेला अवसर खोज्न सक्नुपर्छ । यसको अर्थ बजार घटेका बेला जस्तोसुकै सेयर किन्नु भन्ने होइन । बरु बजारको निराशालाई कम्पनीको वास्तविक मूल्य पहिचान गर्ने अवसरका रूपमा लिनु हो ।

बजार घट्दा राम्रा कम्पनीका सेयर मूल्य पनि घट्न सक्छन् । तर सबै कम्पनीको अवस्था एउटै हुँदैन । कुनै कम्पनीको सेयर मूल्य बजारको समग्र मनोविज्ञानका कारण घटेको हुनसक्छ भने कुनैको मूल्य घट्नुमा कम्पनीको कमजोर वित्तीय अवस्था जिम्मेवार हुनसक्छ । लगानीकर्ताले यी दुई अवस्थाबीचको भिन्नता बुझ्नुपर्छ ।

बजारको तल्लो बिन्दु पत्ता लगाउनु सामान्य लगानीकर्ताका लागि कठिन काम हो । त्यसैले बजार अझै घट्छ कि बढ्छ भनेर पर्खिरहनुभन्दा आफ्नो क्षमताअनुसार चरणबद्ध लगानी गर्नु उपयुक्त हुनसक्छ । उदाहरणका लागि, लगानी गर्न छुट्याएको रकम एकैपटक बजारमा प्रवेश गराउनुको सट्टा केही भाग अहिले र बाँकी रकम बजारको अवस्था तथा कम्पनीको वित्तीय प्रदर्शन हेरेर क्रमशः लगानी गर्न सकिन्छ ।

अर्कोतर्फ, अहिलेको कम ब्याजदरले पनि सेयर बजारको लगानी वातावरणमा प्रभाव पार्न सक्छ । बैंकको निक्षेपमा पाइने प्रतिफल घट्दा लगानीकर्ताले वैकल्पिक लगानीका माध्यम खोज्न सक्छन् । कम ब्याजदरले व्यवसायको ऋण लागत घटाउन र भविष्यमा कम्पनीको नाफा सुधार्न पनि सहयोग पु¥याउन सक्छ । तर ब्याजदर घट्दैमा कम्पनीको नाफा स्वतः बढ्छ भन्ने हुँदैन । त्यसका लागि कर्जाको माग, आर्थिक गतिविधि र व्यवसाय विस्तार पनि आवश्यक हुन्छ ।

अमेरिकी लगानीकर्ता बेन्जामिन ग्राहमले आफ्नो चर्चित पुस्तक ‘द इन्टेलिजेन्ट इन्भेस्टर’मा लगानी गर्दा कम्पनीको वास्तविक मूल्य र बजार मूल्यबीचको अन्तरलाई महत्त्व दिएका छन् । उनका अनुसार लगानीकर्ताले सम्भावित जोखिमबाट जोगिन वास्तविक मूल्यभन्दा कम मूल्यमा सम्पत्ति खरिद गर्ने अवसर खोज्नुपर्छ । यसलाई मार्जिन अफ सेफ्टी भनिन्छ ।

सर्वसाधारण लगानीकर्ताले पनि यही सिद्धान्तलाई ध्यान दिनुपर्छ । सेयरको मूल्य सस्तो देखिएको आधारमा मात्र खरिद गर्नु हुँदैन । कम्पनीको प्रतिसेयर आम्दानी, नेटवर्थ, ऋणको अवस्था, लाभांश दिने क्षमता, व्यवस्थापन र आगामी व्यवसायिक सम्भावना अध्ययन गर्नुपर्छ ।

त्यस्तै, सेयर बजारमा लगानी गर्दा आफूलाई आवश्यक पर्ने पैसा प्रयोग गर्नु हुँदैन । घरखर्च, शिक्षा, स्वास्थ्य वा आकस्मिक आवश्यकताका लागि छुट्याएको रकम सेयर बजारमा लगाउनु जोखिमपूर्ण हुन्छ । बजारमा लगानी गर्दा ऋण लिनुभन्दा आफ्नो बचतबाट लगानी गर्नु सुरक्षित हुन्छ ।

अन्ततः सेयर बजारमा सफल हुन बजारको हरेक उतारचढाव अनुमान गर्न आवश्यक छैन । आवश्यक छ– सही कम्पनी पहिचान गर्ने, उचित मूल्यमा खरिद गर्ने, जोखिम व्यवस्थापन गर्ने र धैर्य राख्ने क्षमता ।

बजार घटेको र ब्याजदर सस्तो भएको अहिलेको अवस्था लगानीको अवसर हुनसक्छ । तर त्यो अवसर सबै कम्पनीमा समान रूपमा उपलब्ध हुँदैन । त्यसैले बजार कति बढ्छ वा घट्छ भन्ने अनुमानभन्दा आफूले किनेको कम्पनीको वास्तविक मूल्य कति छ भन्ने बुझेर लगानी गर्नु नै बुद्धिमानी हुन्छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000