Logo
Logo

आनी छोइङको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले माग्यो सरकारसँग जवाफ


0
Shares

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णय न्यायिक परीक्षणमा परेको छ । उनको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले आनी छोइङलाई उपाध्यक्ष नियुक्त गर्नुको आधार र कारण खुलाउन सरकारका नाममा आदेश दिएको हो ।

साथै, नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न नेपाल सरकार र लुम्बिनी विकास कोषसहितका विपक्षीलाई अदालतमा उपस्थित हुन भनिएको छ ।

आनी छोइङको नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई सार्वजनिक पदमा नियुक्त गरिएको भन्दै राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिट निवेदकले सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आनी छोइङ उपाध्यक्ष बन्न योग्य नरहेको जिकिर गरेका छन् ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा १ (ख) अनुसार उनलाई उपाध्यक्षमा मनोनीत गरेको थियो ।

अब सर्वोच्च अदालतमा हुने छलफलपछि नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने टुंगो लाग्नेछ । तर, कारण देखाउ आदेश जारी हुँदैमा नियुक्ति बदर भएको भने होइन । सरकारले अदालतमा दिने जवाफ र त्यसपछि हुने सुनुवाइले नियुक्तिको वैधानिकताबारे थप स्पष्ट पार्नेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000