काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले सानदार जित निकालेको छ । आज (सोमबार) त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।
यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो ।
अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए । विरन्दीप ९४ बलमा ४६ रन जोडे ।
ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए । त्यसबाहेक अजार हायतले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाए । मलेसियाले १२ रन अतिरिक्तबाट पाएको थियो ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३÷३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिए भने सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिए ।
ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । गुलशन झाले १ विकेट लिए ।
यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
नेपालसँगै समूह ‘ए’ मा ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स ९यूएई०, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।











