Logo
Logo
एसीसी लिग

ओमनमाथि नेपालको सानदार जित


3k
Shares

काठमाडौं । एसीसी प्रिमियर कप लिगमा नेपालले ओमनमाथि सानदार जित निकालेको छ । आज (शुक्रबार) कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमनलाई ८४ रनले पराजित गरेको हो ।

नेपालले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याएको ओमानले ४६ दशमलब ३ ओभरमा नौ विकेट गुमाएर २२६ रन मात्र बनायो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नपालले निर्धारित ५९ ओभरमा ३१० रन बनाएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो । यसअघि नेपालले कीर्तिपुरमै भएको पपुवा न्युगिनी (पीएनजी) सँगको खेलमा २९७ रन बनाउनु नै अहिलेसम्मको ठूलो योगफल थियो ।

ओमानका मुहम्मद नदिमले ६५ रन बनाए । सन्दीप गौडले ४६, आयान खानले २९, कश्यप प्रजापतिले २५, जतिन्दर सिंहले १५,आदिल सफिकले १३ र फजल बटले ११ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेटको कोसेढुंगा पार गर्ने बलर बने । करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिदा ललितनारायण राजवंशीले एक विकेट हात पारे ।

नेपालले निराशजनक सुरुआत गरेपनि कुशलले मध्यक्रममा शतक बनाएपछि नेपालले निर्धारित ५० ओभर आठ विकेट गुमाएर अहिलेसम्मकै उच्च स्कोर बनाएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका कुशल मल्ले ६४ बलमा नौ चौका र १० छक्का प्रहार गर्दै १०८ रन जोडेका थिए । त्यसअघि नेपालका कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । रोहित २३ रनमा आउट हुँदा भीमले ३३ रन जोडेका थिए । सोमपाल कामीले ६३ र करण केसी २९ रनमा अजिवित रहे ।

ओमानका आयान खानले दुई विकेट लिए । जतिन्दर सिंह, अकिब इल्यास, फयाज बट, जिसन मक्सुद, कलिमुल्लाह र बिलाल खानले समान एक विकेट लिएका थिए ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । यता, ओमानले भने पहिलो खेलमा कतारलाई ४० रनले पराजित गरेको थियो ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए‘ नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्