
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले समूह चरणको अन्तिम खेलमा आज बिहिबार कतारसँग खेल्दै छ ।
समूह ुएु मा रहेको नेपालले समूह चरणको अन्तिम खेल टियु मैदानमा बिहान नौ बजेबाट खेल्नेछ।
यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।
समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् भने समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।
आगामी सेप्टेम्बरमा हुने एसिया कपको छनोटको रुपमा समेत रहेको यस प्रतियोगिताको विजेता एसिया कप खेल्नेछ ।
यस्तै समूह बी मा ४ खेल खेलिसकेको यूएई तीन जीत र एक हारबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।
यस समूहमा आज हुने हङकङ र कुवेतबीचको खेलको विजेता सेमिफाइनल पुग्नेछ । हङकङ तीन खेलबाट पाँच अंकसहित दोस्रो स्थानमा छ । दुई खेल जितेर चार अंक जोडेको कुवेत तेस्रो स्थानमा छ ।
कुवेतलाई पराजित गरेमा हङकङ समूह बी को विजेता बन्दै सेमिफाइनल पुग्नेछ ।











