काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारमाथि सानदार जित निकालको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २५.१ ओभरमा सबै (१०) विकेट गुमाउँदै ८९ रन मात्रै बनायो ।
यो जितसँगै नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । नेपाल ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्न सफल भयो । समूहमा ६ अंक जोडेको ओमान उपविजेता बनेर अन्तिम चारमा पुगेको छ ।
अब नेपालले समूह ‘बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ। समूह ‘बी’ को खेलमा हङकङ र कुवेतबीच खेल जारी छ । सो खेलमा हङकङ विजयी भएमा नेपालले सेमिफाइनलमा युएईसँग खेल्नेछ । कुवेत विजयी भएमा भने कुवेतसँग खेल्नेछ ।
नेपालको जितमा सन्दीप लामिछानेले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरे । बलिङमा पाँच विकेट लिँदा ब्याटिङतर्फ नेपालका लागि सर्वाधिक नटआउट ४२ रन जोडे । सन्दीपले ९.१ ओभरमा ५ विकेट लिए ।
बलिङमा कतारमाथि लगातार हाबी भएको नेपालका लागि सोमपाल कामीले तीन विकेट लिन सफल भए। यस्तै ललितनारायण राजवंशीले दुई विकेट लिए । ब्याटिङमा कतारका जाहिर इब्राहिम र खुराम शाहजादले १५–१५ रन जोडे । त्यस्तै अमिर फारुकले १४ रन जोडे । अरु ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.२ ओभरमा १५७ रन रामै जोडेको थियो । नेपालका लागि सन्दीपले सबैभन्दा बढी नटआउट ४२ रन जोडे । उनले ५८ बलमा ६ चौका प्रहार गरेका थिए ।
ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा पेभिलियन फर्किएका थिए ।
ओपनिङ ब्याट्सम्यान आसिफ शेखले १९, कप्तान रोहितकुमार पौडेलले २७, कुशल मल्लले ५ र सोमपाल कामी ११ रन जोडेका थिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले १२, गुल्शन झाले ७ र ललितनारायण राजवंशी १ रनमा आउट भएका थिए ।
बलिङमा कतारका अमिर फारुकले ४ विकेट लिए । ओइस अहमेदले ३ विकेट र मुनवीराले २ विकेट लिएका थिए ।











