
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले नै संविधानको पुनर्मूल्यांकनको बेला नभएको भन्दै अहिले पूर्ण रुपमा संविधान लागू गरेर जाने समय रहेको बताए ।
उनले वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको बताए। प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गरे ।
उनले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानुनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा लेखक वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जनप्रतिनिधिहरुले संविधानअनुकूल काम नगर्दा पुस्तकबाट जनतामा सुसुचित गर्ने लक्ष्यका साथ पुस्तक लेखिरहेको बताए । उनले नेपालमा शासकले विधिलाई शासन गरिरहेको बताए।
विधिलाई शासकले शासन गर्ने कुरा सह्य हुन नसक्ने उनले बताए ।











