काठमाडौं । मान्छेको जीवनमा तीन वटा महत्वपूर्ण चक्र हुन्छन् । ती हुन्- जन्म, मृत्यु र विवाह । यिनै चक्रको मिश्रण हो जीवन ।
जीवनका तीन चक्रमध्ये आफ्नो दुई चक्र (जन्म र मृत्यु)बारे थाहा हुँदैन । थाहा पाउने भनेको विवाहमात्रै हो । बाँचुन्जेल साथ दिने भएकाले श्रीमान/श्रीमतीलाई जीवनसाथी भन्ने गरिन्छ । त्यसैले विवाहलाई जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय मानिन्छ ।
नेपालको पहिलो सगरमाथा आरोही महिला तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा र लाक्पा सोनाम शेर्पाले ४४ वर्षअघि त्यस्तै महत्वपूर्ण निर्णय गरेका थिए । वि.स. २०३६ सालमा उनीहरूले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका थिए ।
विवाहपछि उनीहरु सोलुखुम्बुबाट काठमाडौं आए । उनीहरूको रुची एउटै थियो, ट्रेकिङ व्यवसाय । दुवै एउटै व्यवसायमा भएपछि काठमाडौंको सामाखुसीमा थमसेर्कु ट्रेकिङ स्थापना गरे ।

सोही क्रममा विभिन्न देशका आरोहीसँग उनीहरुको भेट हुन्थ्यो । आरोहीसँगको सामीप्यताले उनीहरूले पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने सपना देखे । समान सपना लिएर एउटै बाटोमा हिँडिरहेका उनीहरू एकाकार थिए– विश्वको सर्वोच्च शिखर टेक्ने सपना ।
सगरमाथामा पाइला टेक्ने दुवैको सपना त पूरा भयो । तर, एउटा सपना अधुरै रह्यो । र, अब त्यो अर्को जुनीमा मात्रै पूरा होला !
पासाङ र सोनामा दुवैको सपना थियो, सगरमाथाको चुचुरो चुम्ने । त्योभन्दा ठूलो सपना थियो– सँगै चुमेर आफ्नो जोडी विश्वलाई देखाउने । तर, उनीहरूको त्यो सपना पूरा गर्न पाएनन् ।
उनीहरूले सँगै सगरमाथा आरोहण गर्ने प्रयास नगरेको होइन । तीन दशकअघि नै गरेका थिए । तर, उनीहरूको प्रयास सफल हुन सकेन ।
पासाङले वि.स. ०५० वैशाख १० गते सगरमाथाको चुचुरो चुमेकी थिइन् । पासाङसँगै सोनाम पनि गएका थिए । तर, सोनाम क्याम्प–२ बाटै फर्किए ।
पासाङले विश्वको सर्वोच्च शिखरमा पाइला त टेकिन् । तर, उनको त्यो पाइला खुशीको मैदानसम्म आइपुगेन । जुन दिन उनले विश्वसामु आफ्नो नाम चम्काइन्, सोही दिन उनी विश्वबाट अस्ताइन् ।
सगरमाथाको आरोहण पूरा गरी आधार शिविर फर्कने क्रममा उनको निधन भयो । उनी, अविस्मरणीय बनिन् । घटना विर्सनलायक बन्यो । त्यसको २० दिनपछि उनको शव फेला पर्यो ।
पासाङकी साथी लाक्पा फुर्टी शेर्पाका अनुसार उनीहरू सगरमाथा जानेबेला पासाङले नराम्रो सपना देखेकी थिइन् । त्यसैले आफूहरूलाई केही भइहाल्यो भने बच्चाहरूको बिचल्ली हुन्छ भनेर सोनाम बीच बाटोबाटै फर्किएका थिए । त्यतिबेला उनीहरूको सन्तान सानै थिए ।
लाक्पा फुर्टी शेर्पाले सुनाइन्– ‘सगरमाथाको आरोहणमा जानेबेला पासाङले राम्रो सपना देखेको थिएन । सपना बिग्रिएपछि मलाई सोधेकी थिइन् । उसोभए सँगै नजाउँ, बच्चाहरू सानै छन्, तिमीहरूलाई केही भइहाल्यो भने बिचल्ली हुन्छ भनेको थिएँ । पासाङले त्यो कुरा सोनाम दाइलाई पनि सुनाइछिन् । त्यहीँ भएर सोनाम दाइ बीच बाटोबाटै फर्कनुभयो ।’
जीवनसाथीलाई ‘शुभयात्रा’ भनेर फर्किएका सोनामले शुभ समाचार त सुने । तर, त्यो शुभ समाचार अशुभमा परिणत हुने समय लागेन । पासाङले सगरमाथामा पाइला टेकेको खबर देशभर फैलियो । नेपाली महिलाले सगरमाथा आरोहण गरेकोमा सबै खुशी थिए । तर, त्यो खुशी छिनमै दुःखमा परिणत भयो । केही दिनमै पासाङले सगरमाथाको आरोहण गरेको भन्दा उनी बेपत्ता भएको खबरले बढी चर्चा पायो ।
पासाङ बेपत्ता भएको २० दिनपछि उनको शव फेला पर्यो । सोनामलाई असह्य पीडा भयो । उनलाई लागेको थियो– ‘म मरेर पासाङ बाँचेको भए हुन्थ्यो, सन्तानको लागि भएपनि उ बाच्नुपथ्र्यो ।’ तर, त्यो असम्भव भइसकेको थियो ।
जीवनसंगिनीसँगै सगरमाथा आरोहण गर्ने सपना बोकेका सोनामले पासाङको निधन भएको ३० वर्षपछि सगरमाथाको सफल आरोहण गरेका छन् । गत बुधबार बिहान ७ बजेर ३४ मिनेटमा उनले सगरमाथाको चुचरोमा पाइला टेकेका हुन् । योसँगै उनको एउटा सपना पूरा भयो । त्यो भन्दा ठूलो सपना भने अधुरै रह्यो ।
लाक्पा फुर्टी शेर्पा भन्छन्– ‘सोनाम दाइको सगरमाथाको चुचुरोमा पुग्ने सपना पहिलेदेखिकै हो । तर पूरा भएको थिएन, बल्ला पूरा भयो तर पासाङसँगै पुग्ने सपनाचाहिँ अधुरै रह्यो ।’
सगरमाथको चुचुरोबाट सोनामले कसरी सम्झिए होलान् पासाङलाई ? कस्तो महशुस गरे होलान ? चुचुरोमा पासाङको हात समाएर उभिएको कल्पना गरे की गरेनन् होलान् ?
सोनम अप्रिल १७ मा काठमाडौंबाट सगरमाथाको लागि प्रस्थान गरेका थिए । सोनाम शेर्पासँगै जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनीले पनि सफलतापूर्वक आरोहण गरेका छन् ।
सोनामले यसअघि ६ वटा महादेशका अग्ला हिमाल आरोहण गरिसकेका छन् । सगरमाथासमेत आरोहण गरेर उनले सातवटै महादेशका अग्ला हिमाल आरोहण गर्ने आफ्नो सपना पूरा गरेका छन् ।
यसअघि अन्टार्कटिकाको माउन्ट भिन्सन, ओशिनियाको माउन्ट पुनकक माउन्ट कार्सटेन्ज, युरोपको माउन्ट एल्ब्रस, अफ्रिकाको माउन्ट किलिमन्जारो, उत्तर अमेरिकाको डेनाली र दक्षिण अमेरिकाको एकोनवागुआ हिमालको उनले आरोहण गरिसकेका छन् । उनले युरोपको सर्वोच्च शिखर माउन्ट ब्लाङ्क, नेपालमा अन्नपूर्ण प्रथम हिमाल, धौलागिरी हिमाल र थमसेर्कु हिमालको आरोहण पनि गरेका छन् ।
झण्डै पाँच दशकदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न सोनामले आठ हजारभन्दा बढी आरोहीलाई नेपालका विभिन्न हिमाल आरोहण गराइसकेका छन् । थमसेर्कु ट्रेकिङका संस्थापक, यती एयरलाइन्सका कार्यकारी अध्यक्षसमेत रहेका उनी होटल तथा जलविद्युतजस्ता व्यवसायमा संलग्न छन् ।
पासाङ सगरमाथा चढेको फोटो छैन
पासाङले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमेर नाम राखिन् । तर, उसले सगरमाथामा पाइला टेकेको फोटो कतै पाइँदैन । त्यसैले कतै उनी सगरमाथाको चुचुरोमा पाइला नै नटेकेको हो कि भन्ने पनि शंका गरिन्छ ।
उनले सगरमाथाको चुचुरोमा पाइला टेकेको फोटो नहुनुको एउटैमात्र करण छ । त्यो हो– क्यामेरा बोकेर उनीसँगै गएको अर्को आरोही बीचबाटोबाटै फर्किनु । र, पनि उनी सकुशल फर्कन सकिनन् । उसको शव आजसम्म पनि भेटिएको छैन ।
पासाङकी छोरी दावाफुटी शेर्पा भन्छिन्– ‘सगरमाथा चढेको उहाँ (पासाङ)को फोटो छैन । किनभने उहाँसँग जो आरोही थिए, उ चाहिँ बीचबाटैदेखि बिरामी भएर फर्किए । र, क्यामेरा पनि सँगै ल्याएका थिए । उनको पनि आधा बाटैमा मृत्यु भयो । त्यो आरोहीको त अहिलेसम्म मृत शरीर पनि भेटिएको छैन । आजसम्म पनि बेपत्तै छन् । ममीको चाहिँ २० दिनपछि भेटियो । फोटो नहुँदाचाहिँ केही मान्छेले उहाँ सगरमाथा नै चढ्नु नभएको हो कि भन्दै प्रश्न उठाएका छन् ।’
पासाङको सगरमाथा आरोहणको बारेमा बनेको चलचित्र ‘पासाङः इन द स्याडो अफ एभरेस्ट’ यथार्थ घटनामा आधारित छ । अमेरिकी टोलीले बनाएको चलचित्रमा पासाङको जन्मथलो सोलुखुम्बुको सुर्के, काठमाडौ, फ्रान्स हुँदै सगरमाथा क्षेत्रसम्मका दुर्लभ भिडियोहरू समेटिएको छ ।











