काठमाडौं । नेपाली कांग्रेस नेता शेखर कोइरालाले कांग्रेसको औचित्य पुष्टि गर्ने बेला आएको बताएका छन् । देशको अग्रणी राजनीतिक पार्टी भएर पनि अहिले कांग्रेस किन र कसका लागि भनेर औचित्य पुष्टि गर्नुपर्ने अवस्था आएको बताएको हुन् ।
चितवनमा शुक्रबारदेखि सुरु भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको ११ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले कांग्रेसको भविष्य के हुने भन्ने प्रश्न र चासो बढिरहेको बताए ।

जनता र कांग्रेस बीचमा दुरी बढ्दै गएको बताउँदै उनले भने, ‘हाम्रो संस्था नेपाली कांग्रेस यस मुलुकको अग्रणी राजनीतिक पार्टी हो । यसको ऐतिहासिक विरासत र रोमाञ्चित यात्राको गाथा कसैबाट लुकेको छैन । तर अहिले हरेक सार्वजनिक संस्था जस्तै हाम्रो दल किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने बेला भएको छ ।’
नेता कोइरालाले कांग्रेसले प्रस्ट विचार र कार्यक्रमका साथ जनताको बीचमा जान नसके थप औचित्य गुमाउने बताए । उनले भने, ‘पछिल्ला दिनमा विकसित राजनीतिले हाम्रो भविष्य के हुने भन्ने चासो बढेर गएको छ । यतिबेला हाम्रासामु चुनौतीको चाङ छ । पार्टी अधिवेशन, स्थानीय निर्वाचन, आम निर्वाचन र उपनिर्वाचनले हाम्रा चुनौती र अवसरलाई स्पष्ट गरिदिएको छ । हामी यतिबेला जनतासँग टाढिएका छौं । यो दुःखद् कुरा हो ।’
उनले जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता रहेको बताउँदै भने, ‘पार्टीको आन्तरिक सुशासन, लोकतन्त्रको स्थिति र हाम्रो जनताको बीचको स्थितिलाई सही ढंगले जोड्न सकेनौं भने हामीले हाम्रो औचित्य गुमाउँदै जाने छौं ।’
उनले पछिल्लो पटक तीनै तहका न्यायालयले दोषी करार गरेका दुई दर्जनले आममाफी पाएको भन्दै कानुनी शासनमा यस्तो उन्मुक्तिको अभ्यासलाई कसरी बुझ्ने भन्ने प्रश्न उठिरहेको बताए ।











