Logo
Logo

पोखराको बाराहीघाटमा नेपाल साहित्य महोत्सव


- दृष्टि न्युज/संवाददाता


पोखरा, २५ मंसिर । आइएमई नेपाल साहित्य महोत्सवको आठौँ संस्करण पोखरामा हुने भएको छ । आयोजक संस्था बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीले पत्रकार सम्मेलन गरी महोत्सव २७ मंसिरदेखि ३० गतेसम्म पोखराको लेकसाइडस्थित बाराहीघाटमा आयोजना हुने जनाएको हो ।
महोत्सवमा अघिल्ला संस्करणझैँ यसवर्ष पनि देश–विदेशका ११० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, सेलिब्रेटी एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । महोत्सवमा ३५ भन्दा बढी सेसन रहने आयोजले जनाएको छ ।
यस वर्ष महोत्सवमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवं गरिमामय ‘डिएससी पुरस्कार’ प्रदान गर्न लागिएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको उक्त पुरस्कार दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो ।
नेपाल साहित्य महोत्सवसँगको सहकार्यलाई लिएर डिएससी दक्षिण एसियाली साहित्यिक पुरस्कारकी सहसंस्थापक सुरिना नरुला भन्छिन्, ‘हामी आइएमई नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ । सुन्दर सहर पोखरामा सम्पन्न हुने आइएमई नेपाल साहित्य महोत्सव २०१९ मा हामी यसपटक डिएससी पुरस्कारको विजेता घोषणा गर्दैछौँ ।’
पुरस्कार र महोत्सव दुवैले दक्षिण एसियाली साहित्यलाई प्रर्वद्धन गर्ने हुँदा यो सहकार्यले हामी दुवैलाई फाइदा हुने विश्वास लिएको बताउँदै उनले भनिन्, ‘दक्षिण एसियाली साहित्यलाई विश्वसामु साक्षात्कार गराउनु हाम्रो प्रमुख उद्देश्य हो । विगत आठ वर्षदेखि दक्षिण एसियाली लेखनलाई निरन्तर प्रवद्र्धन गर्दै आएको डिएससी पुरस्कार प्रत्येक वर्ष फरकफरक दक्षिण एसियाली देशहरूमा वितरण हुने रोलक्रमअनुसार यस वर्ष नेपाल साहित्य महोत्सवमा घोषणा गर्न लागिएको हो ।’
आइएमई नेपाल साहित्य महोत्सवका निर्देशक अजित बराल भन्छन्, ‘सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको साहित्य महोत्सव हाल आठौँ संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको विशाल प्राङ्गण पोखराको बाराहीघाटमा भव्यताकासाथ सम्पन्न भएको परिदृश्यले हामीलाई उत्साह दिएको छ ।’ महोत्सवदक्षिण एसियाकै एउटा समावेशी मञ्चका बन्दै गएको उनले बताए ।
महोत्सवमा यस वर्ष युवा र नवोदित, नसुनिएका र मुलधारमा नआएकाहरुको आवाज समेट्न खोजिएको महोत्सवका संयोजकहरु मध्ये एक शिवानी सिंह थारुले बताइन् । उनले थपिन्, सत्रहरु छनोट गर्दा हाम्रा सार्वजनिक बहसमा र अन्ततः साहित्यमै प्रभाव पार्ने व्यक्ति र विषय समेटेका छौं ।
नेपालकै सबैभन्दा ठूलो र एकमात्र अन्तर्राष्ट्रिय साहित्य महोत्सव पोखरामा आयोजन गर्न पाउँदा गौरवान्वित भएको ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले बताए । नेपाल साहित्य महोत्सव पोखराका युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकको रुपमा आएको व्हाट द बुक क्लबका उपाध्यक्ष अनिशा बराइलीले बताइन् । महोत्सवले पोखरालाई छुट्टी मनाउन आउने शहरमात्रको परिचयबाट माथि उठाएर साहित्यको केन्द्र बनाएको बताइन् । ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल साहित्य महोत्सवले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्