Logo
Logo

इजरायली संसदमा खिचलो, वर्ष दिनभित्रै तेस्रो आमनिर्वाचन हुँदै


- दृष्टि न्युज/संवाददाता


जेरूसेलम, २५ मंसिर (एजेन्सी) । इजरायली संसदमा मुख्य दलबीच सहमति नहुँदा एक वर्षभित्रै तेस्रो आमनिर्वाचन हुने सम्भावना बढेको छ । राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र मुख्य विपक्षी नेता बेन्नी गान्जबीच सहमतिको सरकार निर्माण गर्न बुधबार मध्यरातसम्मको समय दिइएको छ, तर सहमति हुने सम्भावना देखिएको छैन ।
विश्लेषकहरुका अनुसार तेस्रो चुनाव घोषणा गरिएपनि त्यसले दलहरुबीच एकता होइन, अझ तिक्तता बढाउने र प्रजातान्त्रिक प्रक्रियाप्रति नै मानिसको विश्वास कमजोर पार्नेछ । प्रधानमन्त्री नेतान्याहू र उनलाई प्रमुख चुनौती दिइरहेका विपक्षी नेता गान्जबीच सहमतिका लागि हप्तौँदेखि प्रयास जारी छ । दुबै नेता अर्को महँगो निर्वाचन अभियानबाट बच्न चाहन्छन् तर उनीहरुबीच शक्ति बाँडफाँटका विषयमा कुनै ठोस सम्झौता हुन सकेको छैन ।
इजरायलमा गत सेप्टेम्बरमा दोस्रो पटक आमचुनाव भएको थियो । उक्त चुनाव सम्पन्न भएको तीन महिना व्यतित हुँदासमेत नयाँ सरकार गठन हुन सकेको छैन । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हाल कामचलाउ सरकारको नेतृत्व गरिरहेका छन् ।
नयाँ सरकार गठन गर्न बुधबार मध्यरातको म्याद दिइएको छ । यस अवधिभित्र कुनै सहमति नभए संसद भंग गर्नुको विकल्प हुने छैन । आगामी सन् २०२० को मार्च २ वा १० मा तेस्रो पटक संसदको चुनाव हुनेछ ।
इजरायलको विभाजित दलिय स्वार्थ र विपक्षीहरुबीच गहिरिँदो अविश्वासका कारणले अर्को चुनावले पनि अस्थिरतालाई रोक्न नसक्ने देखिएको छ । अर्को चुनावी अभियानका क्रममा इजरायली अर्थव्यवस्थामा अरबौँ खर्च हुनेछ ।

तर चुनावको अर्को मिति घोषणासँगै कामचलाउ सरकारको म्याद १८ महिनाभन्दा बढी हुनेछ । यस्तो सरकारलाई महत्वपूर्ण कानुनहरु निर्माण गर्न, नियुक्तीहरु गर्न र बजेट पारित गर्न कठिन हुनेछ ।
इजरायली डेमोक्रेसी इन्स्टिच्यूटका अध्यक्ष योहानान प्लेसनरका अनुसार सम्पूर्ण निर्णयकर्ता संस्थाहरु ठप्प भएका छन् र यसले समग्र इजरायली जीवनमा असर पार्नेछ । उनले कुनै निर्णायक उपलब्धि नभएपछि जनतामा निराशा उत्पन्न हुनु स्वाभाविक हो भन्दै जनताबीच निकै लोकप्रिय देखिएका प्रधानमन्त्री स्वयं भ्रष्टाचार काण्डमा मुछिएको घटनाले जनतालाई अप्ठ्यारोमा पारेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्