काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकलाई खुकुलो मौद्रिक नीति ल्याउन आग्रह गरेका छन् ।

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको संयुक्त कार्यक्रममा बोल्दै ढकालले कसिलो मौद्रिक नीतिका कारण चालू आर्थिक वर्ष अनुमानित भन्दा ६ प्रतिशत कम अर्थतन्त्र विस्तार भएको भन्दै खुकुलो मौद्रिक नीति आवश्यक रहेको बताए ।
आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरुको कर्जा असुली सुस्ताएको र कर्जा लगानी बिग्रिने अवस्थामा पुगेको उनले बताए । जसलाई सम्बोधन गर्न उनले बैंक वित्तीय संस्था र ऋणी दुवै जवाफदेही हुने नीति अवलम्बन गर्न आग्रह गरे ।
लागत वृद्धिलाई कारण बैंकहरुको सस्तो कर्जा उपलब्ध गराउन नसकेको उनको भनाई थियो । ब्याजदर माथिल्लो तहमा भएको भन्दै उनले तरलता हुँदा हुँदै पनि कर्जाको माग आउन नसकेको उनले उल्लेख गरे ।











