काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पुर्पक्षका लागि थुनामा छन् । तर, अहिलेसम्म खाँणलाई कांग्रेसले निलम्बन गरेको छैन ।
सभापति शेरबहादुर देउवानिकट भएकै कारण खाँणको पद अहिलेसम्म जोगिएको हो । उनलाई निलम्बन गर्न पार्टीभित्रैबाट चर्को दबाव आएपनि देउवाले आफ्नो विश्वासपात्रलाई जोगाउँदै आएका छन् ।

नक्कली शरणार्थी प्रकरणमै संलग्न सन्देश शर्माले देउवा पत्नी आरजु राणालाई पैसा बुझाएको भनिएको अडियो समेत मेल खाएको छ । आरजु आफैँले परीक्षणका लागि प्रहरीमा उजुरी दिएपछि छानबिन गर्दा उक्त आवाज शर्माकै रहेको पुष्टि भइसकेको छ । जसले गर्दा देउवा झन् अप्ठ्यारोमा परेका छन् ।
देउवानिकट अर्का नेता पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका छन् । यस्तै, कांग्रेस केन्द्रीय सदस्य टेकबहादुर गुरुङ भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि सांसद पदबाट निलम्बित भएपनि गुरुङलाई कांग्रेसले केन्द्रीय समिति सदस्यबाट निलम्बन गरेको छैन ।
यस्तै, कांग्रेसले खुमबहादुर खड्का, गोविन्दराज जोशी र चिरञ्जीवी वाग्ले पनि भ्रष्टाचार आरोप लाग्दा पनि कारबाही गरिएको थिएन । यी सबै नेताहरु देउवानिकटका मानिन्छन् ।
अहिले त्यही परम्परालाई धान्दै देउवाले आफू निकट नेताहरूलाई कारबाही गर्न आनाकानी गरिरहेका छैन् । पार्टीभित्रबाट दबाब आएपनि मौन बसेरै जित्ने उनको रणनीति छ ।
खाँणको विषयमा भने उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवामाथि चर्को दबाब दिइरहेका छन् । खाँणलाई निलम्बन नगरेको भन्दै उनीहरूले सार्वजनिक कार्यक्रममै आक्रोश व्यक्त गर्दै आएका छन् ।
तर, देउवा भने मुद्दाको किनारा नलाग्दासम्म खाँणलाई निलम्बन नगर्ने अडानमा छन् । खाँणलाई फसाउन खोजिएको भन्दै देउवा पक्षले खाँणको बचाउ गर्दै आएको छ । दोषी नठहरिएसम्म खाँणलाई कुनै पनि हालतमा निलम्बन गर्न नहुने पक्षमा संस्थापन पक्ष रहेको छ ।
पार्टी नेतृत्व भ्रष्टाचारीको सारथि बन्दा पार्टी झन्झन् कमजोर बनेको भन्दै महामन्त्रीद्वय सशक्त प्रतिवादमा उत्रिएका छन् । उनीहरूले देउवाको विकल्प खोज्नुपर्ने आवाज उठाउन थालेका छन् । संसदीय दलको नेताबाट समेत हटाउने गरी गृहकार्य गरिरहेका छन् ।
महामन्त्री थापाले पार्टी सभापति देउवाको विकल्प खोज्नुपर्ने पार्टीकै विभिन्न फोरमहरूमा बताउँदै आएका छन् । उनले विशेष महाधिवेशनको माग समेत गर्न थालेका छन् । देउवाबाट पार्टी नचल्ने भन्दै नेतृत्व रूपान्तरण गर्नुपर्ने उनको निष्कर्ष छ ।
महामन्त्रीद्वयले नेतृत्वमाथि दबाब बढाएपनि इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला भने मौन छन् । वरिष्ठ नेता बन्ने दाउमा रहेका कोइराला बेला बेला देउवाकै पक्षमा बोल्ने गरेका छन् ।
नेता खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा मतभेद हुँदा केन्द्रीय समितिको बैठक समेत बस्न सकेको छैन । बैठक बस्न नसक्दा कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे अहिलेसम्म समीक्षा पनि गरेको छैन ।
कांग्रेसले गत वर्षको साउनमा केन्द्रीय समिति बैठक राखेको थियो । त्यसयता केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।
देउवा बैठक राख्न डराएपछि तेस्रो पुस्ताका भनिएका युवाले देशव्यापी रुपमा आफूखुशी कांग्रेस रूपान्तरण अभियान चलाइरहेका छन् । सभापति देउवालाई बेवास्ता गर्दै महामन्त्रीद्वयले केही समयअघि मात्रै जिल्ला सभापतिहरूको भेला सम्पन्न गरेका थिए ।
सभापतिले बैठक नै नराखेको भन्दै चर्को आलोचना भएपछि देउवाले यही २७ गते केन्द्रीय समितिको बैठक बोलाएका थिए । तर, त्यही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित भएको थियो ।
बैठक स्थगित भएर देउवालाई केही दिन राहत मिलेको छ । तर, साउन २ गतेका लागि उक्त बैठक आह्वान गरिएको छ । एक वर्षपछि बस्ने लागेको उक्त बैठकको सभापति देउवाले कसरी सामना गर्लान् भन्ने चासोको विषय बनेको छ ।
महामन्त्रीद्वयको गतिविधि र युवा नेताले चलाएको अभियानप्रति असन्तुष्ट रहेका देउवाले केन्द्रीय समिति बैठकमा पार्टीभित्रका असन्तुष्टहरूलाई कसरी समेटेर अघि बढ्छन्, त्यो भने हेर्न बाँकी छ ।











