काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय केन्द्रीय समितिको बैठक भोलि बिहीबार पनि बस्ने भएको । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टी संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको दोश्रो दिन उनीहरुले पार्टीको विधानलाई सहि तवरले कार्यान्वयन गर्दै संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका हुन् ।

कांग्रेसले वडादेखि केन्द्रसम्म संरचना बनाएपनि नेतृत्वमा केन्द्रीकृत मानसिकता हट्न नसकेको उनीहरुको भनाइ छ । बैठकमा प्रदेश सभापतिहरुले पनि प्रदेश समितिलाई वेवास्ता गरिएकाले पार्टी विधि र विधानअनुरुप चल्न नसकेको धारणा राखेका थिए ।
केही सदस्यहरुले गठबन्धनको समर्थन गरेका थिए भने केहीले चूनाव अघिको गठबन्धन आवश्यक नरहेको बताए । बैठकपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले बैठक पारदर्शी ढंगले अघि बढेको र रचनात्मक कुराहरु छलफलका क्रममा आएको बताए । समग्रमा पार्टीलाई बलियो बनाउनुपर्नेमा नै सदस्यहरुले जोड रहेको उनको भनाइ छ ।
बुधबारको बैठकमा जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार वुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ्ग, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल र आमन्त्रित प्रदेश सभापतिहरु लगाएत ४६ जनाले धारणा राखेका थिए । केन्द्रीय सदस्यहरुको धारणा राख्नेक्रम जारी रहेकाले अर्को बिहीबार बिहान ११ बजे पुनः बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।














