काठमाडौं । नेकपा एमालेले पार्टी सदस्य घटेपछि यसअघिको संख्या अनुचित ढंगले बढाएको जनाएको छ । संगठन विभागले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टी सदस्यता नवीकरण नगर्नुको कारण प्रस्तुत गरेको हो ।
एमालेले विज्ञप्तिमा भनेको छ, ‘यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरूको सदस्यता नवीकरण गरिन्थ्यो । त्यसो गर्दा निस्क्रिय सदस्यहरूले पनि नवीकरण गर्ने अवसर पाउँथे । नेतृत्वका आकांक्षाीहरूबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिदिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरूका कारण अनुचित ढंगले पनि संख्या बढ्न पुग्थ्यो ।’

संगठन विभागका प्रमुख काशीनाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा नेकपा एमालेको इतिहासमा यसपटक क्रमभंग गरिएको जनाइएको छ । ‘महाधिवेशनको आयोजना नभएको समयमा सक्रिय सदस्यहरूको यथार्थ संख्या लिन खोजिएको छ’ विज्ञप्तिमा उल्लेख छ ।
एमाले दशौं महाधिवेशनमा ८ लाख संगठित सदस्य रहेको दाबी गरिएको थियो । तर, एमालेले नवीकरण नगर्ने अन्य कारणहरुमा योग्यतम् सदस्यहरूको मात्र नवीकरण गर्ने काम भएको जनाएको छ ।
त्यसैगरी एमालेले दशौं महाधिवेशनका बेला रहेको त्रुटीलाई पनि सच्याउन खोजिएको, एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरूको नाम यथावत् रहेको, नेकपा कालमा अनुचित ढंगले दिइएका सदस्यहरूको ठूलो संख्या पनि त्यसमा पर्न गएको जनाएको छ ।
‘नेकपा एमालेको वास्तविक सदस्य संख्या थिएन । यो कुरा नवौं महाधिवेशनको आँकडा हेर्दा पनि स्पष्ट हुन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘२०७१ सालमा सम्पन्न भएको नवौं महाधिवेशनमा २ लाख ५६ हजार ७७२ जना मात्रै पार्टी सदस्य थिए । तसर्थ नेकपा एमालेका सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन ।’
एमालेको सचिवालय बैठकमा प्रदेश इन्चार्जहरुले प्रस्तुत गरेको विवरणमा ५० प्रतिशत मात्रै संगठित सदस्यले नवीकरण नगरेको विवरण प्रस्तुत गरेका थिए । जसमध्ये प्रदेशमा ३० प्रतिशतले मात्रै सदस्यता नवीकरण गरेको रिपोर्ट प्रस्तुत गरिएको थियो ।
कर्णाली र सुदुर पश्चिममा ३५ देखि ४० प्रतिशत, कोशी र बागमतीमा ५० प्रतिशत, गण्डकी र लुम्बिनीमा ६० देखि ६५ प्रतिशत रहेको जनाएका थिए ।
एमालेले नयाँ सदस्यता पनि बढेको दावी गरेको छ । ‘सच्चा पार्टी सदस्यहरूको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य संख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् । पार्टीको मिसन एकाउन्न प्रतिशतका सन्दर्भमा प्रत्येक वडामा मतदाता संख््याको कम्तिमा तीन प्रतिशत सदस्य पु¥याउने र पार्टीको एघारौं महाधिवेशनसम्ममा दश लाख गुणस्तरीय सदस्य पु¥याउने लक्ष्यका प्रति पार्टी संकल्प साथ लागिरहने छ’, एमालेले भनेको छ ।














