काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपाल मिसन टोलीबीच शुक्रबार महासंघ सचिवालयमा भेटवार्ता भएको छ । उक्त औपचारिक भेटवार्तामा अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताएका छन् ।

बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुर्नसंरचना, पुर्नतालिकीकरण पुर्नकर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट्र बैंकसँग आग्रह गरिरहेको जानकारी गर्दै उनले यसमा अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोग आवश्यक रहेको बताए ।
बजारमा उद्यमी व्यवसायीहरु र उपभोक्ता दुवैको आत्मविश्वास बढाउनु अहिले सबैभन्दा महत्वपूर्ण बिषय रहेकोमा अध्यक्ष ढकालले जोड दिए । सो अवसरमा कोषको मिसन टोली प्रमुख टिएडन टिन्डाले अहिलेको अवस्थामा निजी क्षेत्रको धारणा बुझ्न आवश्यक भएकोले आफू महासंघ आएको बताएका थिए । उनले बजारमा माग घटनुको कारण र पछिल्लो बजेटको प्रभावबारे जिज्ञासा राखेका थिए ।
महासंघ अध्यक्ष ढकालले श्रीलंकाको अर्थतन्त्रजस्तो हुने आशंकामा बजारमा माग संकुचन गर्न ल्याइएका कार्यक्रमले बजारमा समस्या भएको बताए ।
यस्तै, महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्युनक्षमतामा संचालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताए । महासंघ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी बिस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ छ ।
मिसन टोली प्रमुख टिन्डाले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्वका साथ लिएको बताए । साथै, यस बिषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने बताए ।











