काठमाडौं । नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल र यसको भगिनी कम्पनी बोटलर्स नेपाल (तराई)को कारोबारमा वृद्धि देखिएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार बोटलर्स नेपालले सन् २०२१/२२ मा १२ अर्ब ५२ करोड रुपैयाँको व्यापार गरेको छ । बोटलर्स नेपालको व्यापार एकैवर्ष ४ अर्ब २३ करोड रुपैयाँले बढेको हो ।
२०२०/२१ मा कम्पनीले ८ अर्ब २९ करोड रुपैयाँको व्यापार गरेको थियो । २०१९/२० मा ६ अर्ब ९९ करोड र २०१८/१९ मा ९ अर्ब ६८ करोड रुपैयाँको कारोबार बोटलर्स नेपालले गरेको थियो ।
त्यस्तै, बोटलर्स नेपाल (तराई) ले २०२१/२२ मा ९ अर्ब १९ करोड रुपैयाँको कारोबार गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २ अर्ब ९८ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष २०२०/२१ मा कम्पनीले ६ अर्ब २१ करोड रुपैयाँको कारोबार गरेको थियो । २०१९/२० मा ४ अर्ब ८४ करोड र २०१८/१९ मा ५ अर्ब ८१ करोड रुपैयाँको व्यापार कम्पनीले गरेको थियो ।
कोकाकोलाका उत्पादनको बिक्री बढ्दा दुवै कम्पनीको व्यापार उल्लेख्य बढेको हो । बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)ले कोकाकोला, स्प्राइट, फ्यान्टा र किन्ले ब्राण्डका कार्बोनेटेड ननएल्कोहोलिक बेभरेज उत्पादन तथा बिक्री गर्छ । बोटलर्स नेपालमा ७६ प्रतिशत सेयर स्वामित्व कोका(कोला साउथवेस्ट एसिया होल्डिङ्स लिमिटेड, २२ प्रतिशत गोर्खा ब्रुअरीको छ भने बाँकी सर्वसाधारणसँग स्वामित्व छ ।
यस्तै, बोटलर्स नेपाल (तराई)मा बोटलर्स नेपाल लिमिटेडको ९१ प्रतिशत सेयर स्वामित्व रहँदा बाँकी हिस्सा भने सर्वसाधारणसँग छ । बोटलर्स नेपालले आफ्नो उत्पादन काठमाडौं उपत्यका भित्र बिक्री गर्छ भने बोटलर्स नेपाल (तराई)ले काठमाडौं उपत्यका बाहिरको क्षेत्रमा हेर्छ ।











