Logo
Logo

यो वर्षभित्र देशभरिका सबै विद्यालयमा इन्टरनेट : सञ्चारमन्त्री


504
Shares

सिमरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने तयारी गरिएको बताएकी छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, प्रदेश मधेशले बाराको सिमरामा आयोजना गरेको टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी छलफललाई सम्बोधन गर्दै उनले शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट पुर्याउने तयारी गरिएको बताएकी हुन् ।

धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगेको र बाँकी विद्यालय तथा सबै वडासम्म चालु आर्थिक वर्षभित्र इन्टरनेट पुर्याउने गरी तयारी गरिएको उनको भनाइ छ ।

आफूले मन्त्रीको पद वहाली गर्दा राजमार्गलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने पहिलो निर्णय गरेको जानकारी दिँदै मन्त्री शर्माले यो निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताइन् । चालु आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चानयुक्त जिल्ला बनाउने सरकारले निर्णय गरिसकेकाले यो निर्णय प्रभावकारीरुपमा कार्यान्वयन गर्न उनले नेपाल टेलिकमलाई आग्रह गरिन् ।

पूर्वाधार निर्माणका क्रममा सरकारी नियकायबिच समन्वय नहुँदा समस्या आउने गरेको उल्लेख गर्दै उहाँले सडक, खानेपानी, विद्युत, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गरिन् । जंगल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा समस्या भएको गुनासो आएको वन मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको पनि मन्त्री शर्माले जानकारी दिइन् ।

उनले जहाँ बढी समस्या छ, त्यहाँ बढी सेवा दिनुपर्ने मान्यताका समस्या पहिचान गरी समाधानको खोजी गर्न मधेश प्रदेशबाट दूरसञ्चारको समस्या समाधानका लागि सुझाव संकलन अभियान सुरु गरिएको जानकारी दिइन् । मधेश प्रदेशका बासिन्दाले देशको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको उल्लेख गर्दै उहाँले देशकै सबैभन्दा धेरै जनसंख्या रहेको मधेश प्रदेशमा नेपाल टेलिकमले सेवाग्राही विस्तारका लागि प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं नेपाल टेलिकमका कार्यवाहक अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्यहरु किसन श्रेष्ठ र ज्वालाकुमारी साह, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायतले बोलेका थिए ।

कार्यक्रममा बारा, पर्सा, रौटहट र सर्लाहीका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो क्षेत्रमा भएको टेलिकमको सेवा सुविधाबारे जानकारी गराउँदै सुधारका लागि सुझाव दिएका थिए । शुक्रवार मधेश प्रदेशका पूर्वी क्षेत्रमा रहेका चार जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीका जनप्रतिनिधिसँग टेलिकमका सेवा सुविधाबारे जनकपुरमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्