Logo
Logo

स्याङ्जाबाट शुरू भयो खरको छाना विस्थापित गर्ने अभियान


- दृष्टि न्युज/संवाददाता


स्याङ्जा, २१ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताउनुभएको छ ।

खरको छाना विस्थापित गर्ने अभियानअन्तर्गत स्याङ्जाको वालिङमा खरका छाना भएका जनताहरूलाई चेक हस्तान्तरण गर्दै मन्त्री अर्यालले सरकारको प्रमुख मुद्दा गरिबी निवारण भएको बताउनुभएको हो । मन्त्री अर्यालले भन्नुभयो, ‘सरकार सन् २०३० सम्म नेपालमा गरिबी निर्मूल पार्ने अभियानमा लागेको छ । त्यसैको शुरुआत सुरक्षित जनता आवासका लागि पहिलो किस्ताका ३० हजारको चेक हस्तान्तरण गरेका हौं ।’

जनताको जीवनको सुरक्षाका लागि सरकारले उक्त कार्यक्रम ल्याएको भन्दै मन्त्री अर्यालको नेपालमा १८ प्रतिशत गरिबी रहेको र त्यसको निर्मूल पारिने बताउनुभयो । खरका छानामा छिटो आगलागी हुने भन्दै यस आर्थिक वर्षमा २५० घरपरिवारका खरका छाना विस्थापित गर्ने मन्त्री अर्यालले बताउनुभयो ।

स्याङ्जाको वालिङ, गल्याङ, चापाकोट, भिरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका गरी पाँचवटा पालिकाका २५० खरका छाना हटाइने मन्त्री अर्यालले बताउनुभयो । स्याङ्जा क्षेत्र नम्बर २ का पाँच पालिकामा यस वर्ष २५० घरपरिवारलाई रु ५० हजारका दरले दुई किस्ता गरी रकम दिइनेछ । बाँकी रहेका खरका छानाको लगत संकलन गरी पुनः यसरी नै खरका छाना हटाइनेछ । मन्त्री अर्यालले आफ्नो निर्वाचन क्षेत्रमा यस वर्ष २५० घरपरिवारमा टिनका छाना लगाउने अभियानको थालनी गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्