Logo
Logo

सेरेना विलियम्स नाटकीय रुपमा पराजित


(एएफपी)


मेलबोर्न, १० माघ (एएफपी) । अस्ट्रेलियन ओपन टेनिसको तेस्रो राउन्डमै सेरेना विलियम्स नाटकीय रुपमा पराजित भएकी छन् । शुक्रबार सम्पन्न खेलमा सेरेना विलियम्स चीनकी वाङ कियाङसँग २–१ को सेटमा पराजित भएकी हुन् ।
३८ वर्षीया सेरेना २४औं ग्रान्डस्लाम जित्ने उद्देश्यसहित अस्ट्रेलियन ओपनमा सहभागी भएकी थिइन् । सेरेना विलियम्सले यसपटक अस्ट्रेलियन ओपनको आठौं ताज पहिरिने सम्भावना रहेको अडकलबाजी गरिएका थिए । यी दुई खेलाडीबीच यसअघि एक पटक मात्र प्रतिस्पर्धा भएको थियो ।
निकै प्रतिस्पर्धात्मक खेलमा वाङले सेरेनालाई ६–४, ६–७ (२÷७), ७–५ सेटमा पराजित गरिन् । सेरेनाले यसअघि सन् २०१७ मा अस्ट्रेलियन ओपन खेलेकी थिइन् । सन् २०१८ मा बच्चा जन्मिएका कारण उनी खेलमा सहभागी भएकी थिइनन् ।
विश्व वरियतामा २७औं क्रममा रहेकी वाङले सेरेनालाई पराजित गरेपछि ‘मेरो टोलीका सदस्यहरुले मैले जित्न सक्छु भनेर निरन्तर हौसला दिएको’ प्रतिक्रिया दिइन् । गत वर्ष अमेरिकी ओपनको क्वार्टर फाइनलमा वाङ सेरेना विलियम्ससँग ६–१, ६–० को सोझो सेटमा पराजित भएकी थिइन् ।
चीनको तियानजिनकी २८ वर्षीया वाङले यसपटक अस्ट्रेलियन ओपन जित्ने अडकलबाजी गर्न थालिएको छ । गत वर्ष पनि उनी तेस्रो राउन्डबाट बिदा भएकी थिइन् ।
महिलातर्फको अर्को प्रतिस्पर्धामा पूर्व विश्व नम्बर १ क्यारोलिन ओज्नीयाकी तल्लो क्रमकी ट्युनिसियाली खेलाडी ओन्स जाबेरसँग ७–५, ३–६, ७–५ ले पराजित भएकी छिन् । यो पराजयसँगै क्यारोलिनले पनि अन्तर्राष्ट्रिय टेनिस खेलबाट सन्न्यास लिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्