Logo
Logo

अनसनरत डा. केसीलाई ईलामबाट काठमाडौँ ल्याइयो


- दृष्टि न्युज/संवाददाता



काठमाडौं , ४ माघ ।

इलाममा ९ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि बिहिबार राति काठमाडौं ल्याइएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । बिहिबार राति १० बजेर ३ मिनेटमा इलाम अस्पतालबाट उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो ।

रात परिसकेकाले इलाममा हेलिकोप्टर ल्याण्ड गर्ने अवस्था थिएन । त्यसैले इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा ल्याइयो । भद्रपुरबाट सेनाको नाइटभिजनले काठमाडौं ल्याइएको छ । डा. केसी पौने चार बजेतिर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

अनशनरत केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भई घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको, अनसनका कारण नियमित खाँदै आएको मुटुको औषधि खान छुटेको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको छ। केसीको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार स्वास्थय अवस्था नाजुक भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्