विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले दवाव दिएका छन् । त्यसका लागि उनहरु प्रदेश प्रमुख परशुराम खापुङको कार्यालय पुगेका छन् । बिहीबार ४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेकाले कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने उनीहरूको माग छ ।

प्रदेश प्रमुख खापुङ्गले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न दिएको समय शुक्रबार आज साँझ ५ बजे सकिएको छ ।
मुख्यमन्त्रीमा गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका तर्फबाट इन्द्र आङ्बोले दाबी प्रस्तुत गरेका छन् । आङ्बोले पनि ४७ जना सांसदकै हस्ताक्षर बुझाएकाले प्रदेश प्रमुख कानुनी परामर्शमा छन् । कोशी प्रदेशमा सरकारको दाबी गर्न ४७ सांसदको समर्थन आवश्यक पर्छ ।











