Logo
Logo

कोशीमा दुईवटा गठबन्धन बनेको छ : प्रधानमन्त्री


2.4k
Shares

धनगढी । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा दुईवटा गठबन्धन बनेको बताएका छन् । सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले चलखेल गरेर कोशी सरकारमा एमाले सहभागी भएको दावी गरे ।

कोशीमा सत्तारुढ गठबन्धन र एमाले र कांग्रेसको असन्तुष्ट समूहको अर्को गठबन्धन बनेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘कांग्रेस त पार्टी हो कि मञ्च हो कि मोर्चा । कोशीमा दुईटा गठबन्धन बनेका छन् । एउटा हाम्रो गठबन्धन र अर्को एमाले र असन्तुष्ट कांग्रेस समूहको गठबन्धन ।’ कोशीमा एमालेले चलखेल गरेर मन्त्री छिराइहालेको उनको भनाइ थियो ।

कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले सत्ता गठबन्धनले दिँदै आएको दबाबका बीच एमालेसहितको सरकार गठन गरेका छन् । मुख्यमन्त्री कार्कीले आफूले सपथ लिएसँगै एमालेका रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धि उल्ट्याउने प्रयास भइरहेको समेत बताए । उनले भने, ‘अहिलेका उपलब्धि नचाहनेले विगतमा संविधान उल्लंघन गर्ने र प्रतिगमनतिर लैजान खोज्ने प्रयास गरेकै हो । मैले प्रधानमन्त्री भएर धेरै बोल्ने अवस्था छैन । त्यसैले अलिअलि क्रान्तिकारी, अलिअलि प्रधानमन्त्री र अलिअलि विद्रोही हुनुपर्ने अवस्था छ ।’

प्रधानमन्त्री प्रचण्डले केपी शर्मा ओली संघीयतावादी र रियल कम्युनिस्ट नभएको आरोप लगाएका छन् । ‘एमालेको प्रमुखमा माधव नेपाल नभएको भए अहिलेको परिवर्तनको सम्भावना नै थिएन’ प्रधानमन्त्री प्रचण्डले भने । यो गठबन्धन भत्काउनै पर्छ भन्नेहरूलाई यो सरकारका कामहरू मन नपरिरहेको उनले बताए । अहिलेको सत्ता गठबन्धन पाँच वर्षसम्म चल्ने पनि प्रधानमन्त्रीको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘देउवाजीले गठबन्धनको विकल्प देख्नुभएको छैन, कसैले पनि देखेका छैनौं । यही गठबन्धन पाँच वर्ष जान्छ’ उनले भने । उनले अहिलेको समाजवादी मोर्चा नै आफ्नो अन्तिम उद्देश्य नभएको बताउँदै भने, ‘एउटै पार्टी केन्द्र बनाउने लक्ष्य हो ।’

सन्देश सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि अहिलेको गठबन्धनको विकल्प नभएको बताए । जसपाका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको बताए । अनेक कारणले अहिलेका उपलब्धि गुम्ने खतरामा भएको उनले दाबी गरे ।

यस्तै, नेकपाका महासचिव नेत्रविक्रम चन्दले देश जटिल मोडमा पुगेको बताउँदै समाजवादी धारका कम्युनिस्टहरू एकठाउँमा आउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्