
काठमाडौं । नेपाल बीमा प्राधिकरणले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाम, धनुषामा प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया एवम् छलफल गरेको छ । प्राधिकरणले बुधबार प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बीमा बाध्य भएर नभई स्वतः स्फूर्तरूपले गर्ने कार्यक्रम ल्याउन र प्रदेशका सबै नागरिकलाई बीमाको दायरामा ल्याउन प्रदेश सरकार तयार रहेको बताए ।
मुख्यमन्त्री यादवले सीमा क्षेत्रका बासिन्दाहरूमध्ये ६० देखि ७० प्रतिशतले अझै पनि भारतका बीमा कम्पनीहरूमा बीमा गर्ने गरेको र उद्योगी व्यवसायीहरूले करोडौंका उद्योग व्यवसायको बीमा नगरेको हुँदा आगलागी लगायतका कारणले क्षति भएको अवस्थामा राहत माग गर्दा प्रदेश सरकारले एक दुई लाखभन्दा बढी दिन नसक्ने अवस्था रहेको उल्लेख गर्दै नागरिकको जीवन र सम्पत्तिको बीमा गर्ने प्रदेश सरकारको प्रयासमा साथ दिन सम्बद्ध सबैसँग आग्रह गरे ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश बीमा नीति ल्याउन र आर्थिक सहायताका लागि छुट्याइएको बजेटबाट केही रकम बीमामा रूपान्तरण गरी प्रदेश सरकारबाट नै मुसहर, दुसाद लगायतका सीमान्तकृत वर्गको बीमा गरिदिने कार्य शुरू गर्न आग्रह गरे ।
अध्यक्ष सिलवालले सबै नागरिकको वित्तीय जोखिमको दायित्व सरकारले लिन नसक्ने भएकाले बीमाका माध्यमबाट वित्तीय जोखिमको दायित्व बीमा कम्पनीमा हस्तारण गर्नुपर्ने बताउँदै बीमा गरेपछि विपद् लगायतका कारणबाट क्षति भएमा बीमा कम्पनीबाट नै क्षतिपूर्ति हुने बताए ।














