काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय एमाले सरकारमा भएका बेला नै भएको बताएका छन् । एमाले नेता विष्णु पौडेल उपप्रधानमन्त्री रहेको बेला मन्त्रिपरिषदले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको पुनले बताएका हुन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा पौडेलले हिंसा आरम्भ भएको दिनलाई उत्सवको रुपमा मनाउन नसकिँने बताएका थिए । नेता पौडेलको टिप्पणी सांसद पुनले यस्तो जवाफ दिएका हुन् ।

एमाले नेता एवं सांसद पौडेलले बैठकमा भने, ‘हिंसा सुरु भएको दिनलाई जनयुद्ध दिवस मानेर विदा दिने निर्णय सरकारबाट भएको छ, कांग्रेस त्यसैमा सहभागी छ । यदि यो सरकारसँग आँट छ भने जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा लिएर आओस् त्यसको निर्णय जनप्रतिनिधिले गर्छन्, हामीले गर्छौँ ।’
पौडेलपछि बोलेका माओवादीका उपमहासचिवसमेत रहेका नेता पुनले नेताहरूले संस्कार र संस्कृति सुधार गर्नुपर्ने बताउँदै जनयुद्ध दिवस मनाउने निर्णय विष्णु पौडेल उपप्रधानमन्त्री रहेको मन्त्रिपरिषदले गरेको स्मरण गराएका हुन् ।
उनले भने, ‘माघ १९ गते त्यो निर्णय भएको रहेछ । पूर्ववक्ता माननीयज्यू त्यतिबेला उपप्रधानमन्त्री हुनुहुँदो रहेछ । त्यही क्याबिनेटले गरेको रहेछ । हामी आफैं गर्ने अर्को ठाउँमा जाँदा त्यही फेरि अर्कै हुने कसरी हुन्छ ?’














