
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेशमा प्रशिक्षक प्रशिक्षण शिबिर सम्पन्न भएको छ । सिरहाको लाहानमा सोमबारदेखि सुरु भएको तिन दिने प्रशिक्षण शिबिरमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले प्रशिक्षण दिएका थिए ।
पार्टी अध्यक्ष यादवले वैचारिक, सैद्धान्तिक विषयका साथै नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै अर्का प्रशिक्षक नेता राउतले मधेस जनविद्रोह, चुनौति र प्राप्त उपलब्धीका विषयमा प्रशिक्षण दिएका थिए ।
मधेस प्रदेश समितिको पार्टी स्कूल तथा प्रशिक्षण विभागको आयोजनामा गरिएको उक्त प्रशिक्षणमा पार्टीका केन्द्रीय कार्यकारिणी समितिदेखि स्थानीय तहसम्मका पार्टी सदस्य, जनप्रतिनिधि र भ्रातृसंगठनका प्रतिनिधि गरी एक सय साठी जना सहभागी रहेको मधेस प्रदेशका पार्टी स्कूल तथा प्रशिक्षण विभाग प्रमुख रामपृत पासवानले जानकारी दिए ।














