Logo
Logo

बिपी प्रतिष्ठानको उपकुलपति नियुक्ति किन रोकियो ?


- आनन्द श्रेष्ठ


धरान, २८ माघ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति पदमा कसलाई ल्याउने भन्नेबारे कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच रस्साकस्सी चल्न थालेको छ । विगत ६ महिनादेखि रिक्त रहेको उपकुलपति पदका लागि सहकुलपति तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सयोजकत्वमा वनेको तिन सदस्सीय समितिले गत साता नै कुलपति एवं प्रधानमन्त्रीसमक्ष तीन जनाको नाम सिफारिस गरिसकेको छ ।

विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्र गिरीको नाम एकाएक सिफारिसमा पर्नुचाहिँ स्वास्थ्यमन्त्री भानुभक्त ढकालको आशीर्वाद मुख्य कारण रहेको बताइन्छ । किनभने मोरड ७ बाट चुनाव लडेका स्वास्थ्यमन्त्री ढकाललाई चुनावताका गिरीले राम्रै आर्थिक सहयोग गरेर सघाएका थिए । त्यस अतिरिक्त गिरी साविक एमालेका कार्यकर्ता पनि रहेको र विराटनगरका एमाले नेता तथा धरानका केही व्यापारीहरुले पनि उक्साएको बताइन्छ । तर, नेपाल सरकारले एमबीबीएसका विद्यार्थीहरुसँग ४२ लाख मात्र लिनुपर्ने मापदण्ड बनाए पनि गिरी अध्यक्ष भएको विराट मेडिकल कलेजले ७५ लाखसम्म लिएकोमा विद्यार्थीहरुले त्यसको ठूलो विरोध गरिरहेका छन् ।

सिफारिसमा पर्नेहरुमा हाल कार्यवाहक उपकुलपति चलाइरहेका प्रतिष्ठानभित्रका प्राडा गुरु खनाल, प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख सञ्जीव शर्मा र विराट मेडिकल कलेज विराटनगरका सञ्चालक एवं मुटुरोग विशेषज्ञ प्राडा ज्ञानेन्द गिरी रहेका छन् । नाम सिफारिस भएको एक साता बितिसक्दा पनि कुलपति एवं प्रधानमन्त्रीले उपकुलपतिको छनोट गर्न सकेका छैनन् । यसो हुनुमा पार्टीले सिफारिस गरेको व्यक्तिसँग मेल नखानु मुख्य कारण रहेको बताइन्छ । नेकपा धरान उपमहानगर कमिटीले स्वास्थ्यमन्त्रीलाई आधिकारिक पत्र नै लेखेर उपकुलपतिमा वर्तमान कार्यवाहक उपकुलपति तथा रेक्टर गुरु खनाललाई नियुक्त गर्दा उपयुक्त हुने सिफारिस गरेको छ । सोही सिफारिसको आधारमा पार्टीका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ले पनि उनैलाई नियुक्त गर्न अनुरोध गरिएको बताइन्छ । तर, स्वास्थ्यमन्त्री तथा प्रधानमन्त्री ओलीले भने विराटमेडिकल कलेजका ज्ञानेन्द्र गिरीलाई उपकुलपति बनाउने अड्डी कसेपछि नाम सार्वजनिक गर्न ढिलाइ भएको पार्टी सूत्रले बताएको छ । पार्टीले लेखेको पत्र मन्त्रालयबाटै चुहावट भई सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धरानमा ठूलै हल्लीखल्ली मच्चिएको छ । तर प्रतिष्ठानको पहिलो उपकुलपतिमा राजनीतिक छवि भएका प्राडा शेखर कोइरालालाई नेपाली काँग्रेसले नियुक्त गरेर राजनीतिक रङ दिएपछि नेकपाको सो सिफारिसको बारेमा कोही बोल्न सकिरहेको छैन ।

पार्टीले किन ग¥यो सिफारिस खनाललाई ?

तीन वर्षअघि नियुक्त भएका उपकुलपति प्राडा राजकुमार रौनियारलाई ६ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ लाख घुस लिएको आरोपमा कार्यालयवाटै पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्वनमा परेका थिए ।

सो रिक्त पदमा प्रतिष्ठानकै रेक्टर गुरु खनाललाई कार्यवाहक उपकुलपति बनाई प्रतिष्ठानको कामकारवाही सुचारु गरिएको थियो । ६ महिनाको अवधिमा कार्यवाहक भिसी खनालले प्रतिष्ठानमा अड्किएका थुप्रै महत्वपूर्ण कामहरु गरेर देखाएको कुरा कर्मचारी बताउँछन् । जस्तो ६ महिनादेखि बन्द भएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएर दिनमा झण्डै ८० हजार रुपैयाँ बचत गराएका थिए । यसैगरी मुटुसम्बन्धी जाँच गर्ने क्याथलाग मेसिन, सिटीस्क्यान बिग्रिएर थन्किएका थिए, त्यसलाई बनाएका छन् । सिटीस्क्यान नयाँ खरिद गरेर सुचारु गरेको बताउँछन । सधैँ भीडभाड हुने एमर्जेन्सी भवनलाई विस्तार शुरु गरेका छन्, जुन आगामी महिनादेखि सञ्चालनमा आउने भएको छ । यसैगरी आइसियुमा डाइलासिस सेवालाई विस्तार गरेर २८ वटा थपिने भएको छ । विद्यार्थीहरुको आवास भवनलाई उनले केन्द्रबाट बजेट ल्याएर पुनःनिर्माण गर्न शुरु गरेका छन् । प्रतिष्ठानले सञ्चालन गर्न नसकेर बन्द हुन लागेको औषधि पसललाई उनले सुचारु गरेका छन् । रगतको रिर्पाेट लिन दुई दिन लाग्थ्यो भने आजभोलि एकै दिनमा दिने व्यवस्था मिलाइएको छ । यसभन्दा अघिका भिसीहरुले ठूलाठूला नीतिनिर्माण ठेक्कापट्टाका काम कुरा एकल निर्णयबाट गर्ने गरेबाट सधैँ विवादमा आउने गरेका थिए । तर, खनालले हाल प्रतिष्ठानको स्तरोन्नतिका लागि प्रतिष्ठानकै स्वच्छ छवि भएका डाक्डर विक्रम श्रेष्ठको संयोजकत्वमा एक ५ सदस्यीय योजना, मूल्यांकन अनुगमन समितिको गठन गरिदिएको छ । काठमाडौँको बाँसवारी, भक्तपुर, हरैचा र धरानको पुरानो अस्पतालमा भएको प्रतिष्ठानको जमिनहरुलाई कसरी सदुपयोग गरी प्रतिष्ठानको आम्दानी बढाउने भन्नेबारे विज्ञहरुको राय सुझाव लिने काम भइरहेको डा विक्रम श्रेष्ठले दृष्टिलाई बताए ।

सत्ताधारी पार्टीको निकट भएको नाताले पनि डा खनालले सधैँ अनियमित हुने सिनेट बैठकलाई नियमित गरी धेरै अप्ठ्यारा विषयहरुमा छलफल गराई बाधा फुकाउन सफल भएको प्रतिष्ठानका अधिकारीहरु बताउँछन् । उपकुलपतिकै हेरफेरका कारण चार वर्षदेखि अड्किएको दीक्षान्त समारोह यही फागुन २४ गते भव्यताका साथ गर्ने निर्णय भएको छ । जसले विद्यार्थीहरुलाई ठूलो राहत मिल्ने भएको छ । भ्रष्टाचारको मुद्दामा अख्तियारले कारवाही थालेपछि प्रतिष्ठानका बहालवाला रजिष्ट्रार, मुख्य लेखापाल, ४ जना लेखा अधिकृतहरु निलम्वनमा परी लेखाफाँटमा खाली जस्तै भएको छ । यस्तो अप्ठ्यारो अवस्थामा पनि सबैको सहयोग लिएर सहजरुपमा प्रतिष्ठानलाई अघि बढाएको भन्दै नेकपालगायत स्थानीय राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजले खनाललाई पूर्णकालीन उपकुलपतिमा नियुक्त गर्दा उपयुक्त हुने पत्रहरु स्वास्थ्यमन्त्रीसमक्ष पठाएका छन् ।

यता नाम सिफारिस भएका तीन जनामध्ये प्राडा सञ्जीव शर्मा सोझो र सरल मान्छे भए पनि नितान्त प्राविधिक ज्ञानमा मात्र निपूर्ण तर प्रशासन सञ्चालनमा कुनै अनुभव नभएकाले उनलाई औपचारिकताका लागि मात्र नाम सिफारिस गरिएको बुझिएको छ । नाम सिफारिस भएर बढी चर्चामा आएका विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्र गिरीको नाम एकाएक सिफारिसमा पर्नुचाहिँ स्वास्थ्यमन्त्री भानुभक्त ढकालको आशीर्वाद मुख्य कारण रहेको बताइन्छ । किनभने मोरड ७ बाट चुनाव लडेका स्वास्थ्यमन्त्री ढकाललाई चुनावताका गिरीले राम्रै आर्थिक सहयोग गरेर सघाएका थिए । त्यस अतिरिक्त गिरी साविक एमालेका कार्यकर्ता पनि रहेको र विराटनगरका एमाले नेता तथा धरानका केही व्यापारीहरुले पनि उक्साएको बताइन्छ । तर, नेपाल सरकारले एमबीबीएसका विद्यार्थीहरुसँग ४२ लाख मात्र लिनुपर्ने मापदण्ड बनाए पनि गिरी अध्यक्ष भएको विराट मेडिकल कलेजले ७५ लाखसम्म लिएकोमा विद्यार्थीहरुले त्यसको ठूलो विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्