Logo
Logo

‘भड्किलाहरु खै कहाँ गए ?’


- एमपी सुब्बा


  • एमपी सुब्बा

‘गायिका ज्योति मगर अहिले कहाँ छिन् ?’ एक रंगपत्रकारले आइतबारमात्रै सोधेका थिए । ‘खै थाहा भएन । गाउने मान्छे, कार्यक्रमतिरै व्यस्त होलिन्’ उनलाई हल्का जवाफ दिएँ ।

नभन्दै ज्योतिले सोमबार बिहान १० बज्दा–नबज्दै आफ्नो फेसबुक एकाउन्टमा चार वटा फोटो पोष्ट गरिन् । र, क्याप्सनका लेखिएको थियो, ‘गल्र्स वान्ट एटेन्शन, वुमेन वान्टस् रेस्पेक्ट लेजेण्डस् जस्ट केयर…’ अर्थात ‘केटीहरु ध्यान चाहन्छन्, महिला सम्मान चाहन्छ, किंवदन्तीहरु मात्र मतलव गर्दैनन्…।’

हुन त एक समय लोकगीत र दोहोरीमा समेत अराजकताले परकाष्ठा नाघेको थियो । तर, अहिले फेरि लोकगीत तथा दोहोरीमा सुधार भएको पाइन्छ । त्यसैले पनि पछिल्लो समय मेला महोत्सवमा समेत ‘भड्किला’ र ‘रकस्टार’लाई छाडेर लोकगायक÷गायिकाहरुलाई खोजिन थालेको छ । यही अवस्थाले हो ‘गायिका ज्योति कहाँ छिन् ?’ भन्ने प्रश्न उब्जाएको पनि । हुन त ज्योति एक कुसल लोकगायिका हुन् । उनको हरेक गायनमा दम्भ र आफ्नै शैली छ । त्यसैले नै उनी ‘भल्गर’ प्रस्तुत दिएर विवादमा आएपनि अहिलसम्म टिकिरहेकी छन् । तर, नयाँ आउने कलाकारका लागि भने ‘ओभर एक्पोज’ आफ्नै लागि हानिकारक बन्न सक्छ ।

दर्शक आफूतिर आकर्षित गर्न यी चर्चित लोकगायिकाले स्टाटस पोस्ट गरेको बुझ्न कुनै कठिनाइ थिएन किनकि, ज्योतिले आफ्ना हरेक क्रियाकलापले दर्शक तथा श्रोतालाई पकडमा राख्ने प्रयत्न गर्दै आएकी छन् । ज्योतिको उक्त पोस्ट देखेपछि ती रंग पत्रकारलाई भन्न मनलाग्यो, ‘ज्योति मगर गुल्मीको मुसीकोटतिर छिन् ।’

काठमाडौंमा ज्योतिको खोजी भइरहँदा उनी उद्योग वाणिज्य संघ, गुल्मीले आयोजना गरेको ‘प्रथम मुसीकोट महोत्सव’मा दर्शक तताइरहेकी थिइन् । तर, अघिल्ला वर्षहरु जस्तोचाहिँ होइन किनकि, एक समयको ‘ग्ल्यामरस’ गायिका ज्योति पछिल्लो समय निकै ‘सिम्पल’ भइसकेकी छन् । त्योसँगै ‘गाली’ र ‘ताली’ पनि कम पाउन थालेकी छन् ।

गत वर्षसम्म ज्योतिहरुका लागि गाली र ताली वर्षाउनेहरु अहिले आएर भन्न थालेका छन्, ‘हिजोआज भड्किलाहरु कता गए, कहाँ हराए ?’ प्रशंग ‘भड्किला’हरुकै हो । नेपाली गायन क्षेत्रमा ‘भड्किलो’ प्रस्तुतीका कारण प्रायः चर्चा र विवादमा आइरहने गायिका ज्योति मगरमात्र होइन, पछिल्लो समय चर्चाका लागि ‘ज्योतिपथ’ अँगालेकाहरु समेत ओझेलमा छन् ।

अहिलेको सिजन मेला र महोत्सवको छ । तर, अघिल्ला वर्षहरुमा महोत्सव तताएका ती ‘भड्किला’ अर्थात ‘हट’ भनिएका गायिका र मोडलहरु ‘हिउँ’जस्तै चिसिएका छन् । चर्चित लोकगायिका ज्योति मगरले आफ्नो ग्ल्यामरस प्रस्तुतीका कारण देश–विदेशमा हुने अधिकांश सांगीतिक मेला–महोत्सवका स्टेज तताउन थालेपछि ‘तरिका यो पो रहेछ’ भन्दै धेरै गायिका र मोडलहरुले ‘ज्योतिपथ’ अँगालेका थिए । तर, उनीहरु लामो समय टिक्न सकेनन् । गत वर्ष पश्चिम नेपालमा आयोजना भएका केही महोत्सवमा ज्योतिकै ‘ओभर एक्पोज’ विवादमा आएको थियो । र, ‘यस्तै पारा हो भने महोत्सवबाटै बहिस्कार गर्नुपर्छ’ भन्नेसम्म आवाजहरु उठ्न थालेको समाचारहरु समेत आए । तर, ज्योतिले ती समाचारमा आएजस्तो ‘आफ्नो ओभर एक्पोज’को आलोचना नभएको स्पष्टिकरण दिएकी थिइन् । तर, ती हल्लाले ज्योतिलाई मात्र नभएर ‘ग्ल्यामरस’ पस्केर ‘रातारात हिट’ हुने सपना बुनेका अन्य थुपै्रको सपनामा तुषारापात लाग्न पुगेको छ ।

तीमध्येकी एक गायिका हुन्, सरस्वती लामा भुजेल । जो एकपटक ‘रकस्टार’को रुपमा चर्चामा आइन् । एक साधारण गायिकाको रुपमा सांगीतिक क्षेत्रमा उदाएकी सरस्वती रातारात ‘हिट’ पनि भइन् । कारण उनको प्रस्तुती र एक्पोज नै थियो । हुन त सरस्वतीसँग एक फरक गायनशैली र प्रतिभा नभएको होइन । तर, उनी झनै भिन्न हुने प्रयासमा लागिन् । जसका कारण उनको चर्चा लामो समयसम्म टिक्न सकेन ।

‘उडी जाने हावाले’, ‘भैँसी हात्ती’जस्ता गीत गाएर चर्चामा आएकी सरस्वतीले पछिलो समय आफूलाई हलिउडका ‘पपस्टार’ लेडी गागा र निक्की मिनाजसँग तुलना गर्नसम्म भ्याइन् । तर, जब मेला महोत्सवमा उनको प्रस्तुतीमा दर्शकले वाहवाहीसँग विस्तारै गाली गर्न थाले, त्यसपछि विस्तारै सेलाउँदै गइन् । अहिले उनी के गर्दैछिन्, धेरैलाई थाहा छैन ।

यतिखेर मेला र महोत्सवको सिजन चलिरहेको छ । साथै, सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाइरहेको छ । तर, दर्शक तथा श्रोताले ‘भ्डकिला’ उपनाम दिएका जो कलाकार छन् । उनीहरुको न चर्चा छ, न त उनीहरुको उपस्थिति नै । सामाजिक सञ्जाल फेसुबकमा समेत गत वर्षसम्म आफ्नो सक्रियता देखाइरहेकी यी ‘रकस्टार’हरुलाई रंग पत्रकारहरु नै खोज्ने बेला आएको छ । एक जमानाकी सांगीतिक ‘हटकेट’ मानिएकी ज्योति मगरलाई समेत खोज्ने अवस्था आएको छ । पछिल्लो समय यस्ता कलाकारहरु ओझेलमा परेका छन्, जो एक समय उनीहरु भन्थे, ‘यो सबै समयको माग हो । यहाँ कि देखाउनेको बिक्छ कि बोल्नेहरु चल्छन् ।’ यही ‘फर्मूला’ गायिका सरस्वतीले पनि अँगालेकी थिइन् । जसका कारण उनी थोरै समयमा चर्चामा आउन समेत सफल भइन् ।

स्टेज पर्फमेन्सहरुमा बढी ‘भल्गर’ ‘जबरर्जस्त एक्पोज’ भएको गुनासोहरु आइरहेकै बेला यी ‘रकस्टार’को एउटा अन्तर्वाता विवादमा आयो । कलाकारले दर्शक तथा श्रोतालाई आफ्नो भगवानसरह मान्ने गर्छन् । तर, चर्चाका लागि दर्शक तथा श्रोताको कमेन्टलाई समेत वास्ता नगरी अभिव्यक्ति दिँदा अन्नतः दर्शकबाटै बेवास्ता हुन थालेको छ ।

त्यसो त नेपाली सांगीतिक क्षेत्रमा मात्र नभएर मोडलिङ र फिल्म क्षेत्रमा पनि ‘भल्गर’ बिकाएर चर्चामा आउन खोज्नेहरु प्रसस्त छन् । तर, त्यसरी आएकाहरु ‘पानीको फोका’ जस्तै फुटेर जाने गरेका छन् । गायिका ज्योति मगर र सरस्वती लामा उदाहरण मात्र हुन् । यहाँ यस्ता थुप्रै कलाकार छन्, जो नेपाली समाजमा जबरर्जस्त पश्चिमा (उनीहरुको भाषामा हलिउड) शैली अपनाएर चर्चामा आउने प्रयत्न गरिरहेका छन् । तर, अहिलेसम्म नेपाली समाज हलिउडशैलीको प्रस्तुती पचाउन सक्ने अवस्था भइसकेको छैन ।

चर्चा एक ठाउँमा छ । गुमनाम बस्नुभन्दा विवादमै आएर भएपनि चर्चामा आउन खोज्नेहरुकै कारण आज नेपाली सांगीतिक क्षेत्र पुनः लोकदोहोरीमा फर्किको छ । हुन त एक समय लोकगीत र दोहोरीमा समेत अराजकताले परकाष्ठा नाघेको थियो । तर, अहिले फेरि लोकगीत तथा दोहोरीमा सुधार भएको पाइन्छ । त्यसैले पनि पछिल्लो समय मेला महोत्सवमा समेत ‘भड्किला’ र ‘रकस्टार’लाई छाडेर लोकगायक-गायिकाहरुलाई खोजिन थालेको छ । यही अवस्थाले हो ‘गायिका ज्योति कहाँ छिन् ?’ भन्ने प्रश्न उब्जाएको पनि । हुन त ज्योति एक कुसल लोकगायिका हुन् । उनको हरेक गायनमा दम्भ र आफ्नै शैली छ । त्यसैले नै उनी ‘भल्गर’ प्रस्तुत दिएर विवादमा आएपनि अहिलसम्म टिकिरहेकी छन् । तर, नयाँ आउने कलाकारका लागि भने ‘ओभर एक्पोज’ आफ्नै लागि हानिकारक बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्